एमाले महाधिवेशन : आज बन्द सत्र

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०९:०२

 नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (शनिबार) बन्द सत्र शुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने जानकारी दिएका छन् । ‘बिहान १० बजे बन्द सत्र शुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि भने ।
एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

यता एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ । शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो । निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ ।

त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् । विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिए । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उनले बताए ।

कार्यालय सचिव तामाङका अनुसार बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेको छ । निर्णय अनुमोदनका लागि आज हुने तर केन्द्रीय कमिटीले निर्णय गरे जस्तै नयाँ नेतृत्व सर्वसम्मत चयन हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी छ । किनभने अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा उपाध्यक्ष भीम रावलले फिर्ता लिएको कुरा सार्वजनिक भइसकेको छैन । बन्द सत्रमा पेस गरिने छ ।

एमालेमा अब

अध्यक्ष–१ जना

वरिष्ठ उपाध्यक्ष–१ जना

उपाध्यक्ष–६ जना

महासचिव–१ जना

उपमहासचिव–३ जना

सचिव–७ जना

केन्द्रीय कमिटी ३०१ सदस्यीय

अनुशासन, लेखा र निर्वाचन आयोग २५ सदस्यीय

हिजो शुक्रबार चितवनको सौराहास्थित नारायणी नदी किनारमा उद्घाटन सत्र सकेको एमालेले आज बन्द सत्र आयोजना गरी नयाँ नेतृत्व चयन गर्ने भएको हो ।नयाँ पेजबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु