गोदावरीमा पारित विधान सौराहामा संशोधन

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०९:०५

नेता व्यवस्थापनमा सकस परेपछि एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । विधानतस् २२५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् । महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातमा बसेका साविक केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो पनि ब्यँताउने निर्णय गरेको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाइए पनि पार्टीका मुख्य पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा चुनाव हुने सम्भावना टरेको छैन । १० बुँदे सहमति गरेर एमालेमा बसेका र पूर्व माओवादी समूहलाई समेट्दै कम्तीमा पदाधिकारीमा सर्वसम्मत गराउने रणनीतिमा रहेका अध्यक्ष केपी शर्मा ओली आफूनिकट नेताहरु नै एउटै पदमा भिड्ने स्थिति आएपछि दबाबमा छन् । एकताको मनोविज्ञान तयार पार्न पदाधिकारी थपेर भए पनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आवाज बलियो बन्दै गएको थियो ।

‘महाधिवेशनको अभिभारा नेताहरुको व्यवस्थापन होइन’ भन्दै आएका ओली उम्मेदवारी मनोनयको अघिल्लो दिन पदाधिकारीको संख्या थप गर्न तयार भएका हुन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थप्ने निर्णय भएसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक माहसचिव, तीन उपमहासचिव र सात सचिव हुनेछन् ।

दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो,’ केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र शुभचिन्तकको जोड सर्वसम्मतबाट नेतृत्व चयन होस् भन्ने सुझाव थियो, त्यसैलाई मध्यनजर गर्दै पदाधिकारीको संख्या थप्ने निर्णय गरिएको हो,’ भट्टराईले भने । केन्द्रीय कमिटीको आकार बढाएसँगै महिला एकतिहाइ अर्थात कम्तीमा सय जना छानिने भएका छन् । कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु