नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०९:११

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्नेबारे अध्ययन भइरहेको बताएका छन्।

सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख पाण्डवले डब्ल्युएचओले नयाँ भेरियन्ट बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको पनि बताए।


उनले डब्ल्युएचओले यो भेरियन्टविरूद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए।

प्रमुख पाण्डवले भने, ‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो। यो २६ नोभेम्बर २०२१ म देखिएको हो र यसलाई डब्ल्युएचओले ‘ओमिक्रोन’ नाम दिएको छ। पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरसभन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्नेबारे स्पष्ट भइसकेको छैन।

अहिले विश्व स्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरूले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको उनले बताए।

डब्ल्युएचओले अहिले यो भेरियन्टमा कोरोनाविरूद्धको खोप सफल हुन्छ कि हुँदैन भनेर पनि अध्ययन गरिरहेको छ। केही समयभित्रमा सायद अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन रु भन्ने कुरा पत्ता लाग्नेछ। डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भेरियन्टमा कतिको सफल हुनेछ यसले रोगबाट कतिको बचाउन सफल हुन्छ, त्यसको अध्ययन चलिरहेको छ।’

प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदाझैं मास्क अनिवार्य लगाउनुपर्ने, हात मिचिमिची धुनुपर्ने, सभा सम्मेलन रोक्नुपर्ने बताए।

उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएकोझैं एकै ठाउँमा भेला भएर बस्नेहरूको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरूको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए।

प्रमुख पाण्डवले अस्पतालहरूले तयारीका साथ रहनुपर्ने, र्‍याल, सिंगान, खकार जथाभावी नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए।

प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए।

उनले कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पुर्‍याउनुपर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्णपालन गर्नुपर्ने बताए।

प्रमुख पाण्डवले भने,‘हामीले नेपालको स्वास्थ्य मन्त्रालयलाई नयाँ भेरियन्टको बारेमा भनिसकेका छौं। यसको लागि स्वास्थ्य मन्त्रालयले तीव्र र राम्रो तयारी गर्ने भनेको छ। स्वास्थ्य चौकी र अस्पताललाई तयारी अवस्थामा रहन भन्नुपर्छ। यो भाइरस धेरै पटक परिवर्तन भइसकेको छ र हुँदै पनि छ।’

यो भाइरस आम नागरिकको लागि रिस्क सावित भइरहेको भन्दै सबैलाई सचेत रहन र भ्याक्सिन लगाउन उनले सुझाए।

‘धेरै मानिसले सार्वजनिक स्थलमा मास्क लगाएको देखिँदैन, त्यसैले यसबाट बच्नको लागि मास्क, सामाजिक दूरी कायम गर्ने कुरा, भेला हुने र हात धुने कुरा महत्वपूर्ण छ। यसकारण पनि सबैले यी नियम अपनाएमा हाम्रो सामुमा आइरहेका कोरोना भाइरसका विभिन्न नयाँ प्रकारबाट बच्न र बचाउन सकिन्छ,’ उनले भने।  

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो।

यसबारेमा हालसम्म डब्ल्युएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलीले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्युएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु