राप्रपा को नयाँ नेतृत्व चयनको प्रक्रिया आज देखि शुरु

छिनोफानो   बिहिबार १६, मङि्सर २०७८ ०९:१९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनको प्रक्रिया आज (बिहीबार) देखि शुरु हुँदैछ । राप्रपाको एकता बुधबारबाट शुरु भएको एकता महाधिवेशनअन्तर्गत आजबाट निर्वाचन प्रक्रिया शुरु हुन लागेको हो ।

भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् । अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेण्डा अघि सारेका छन् ।

बन्द सत्रमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपतिशम्शेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गरेका छन् । यस्तै विधान संशोधनसहित गाउँ÷नगर, जिल्ला, प्रदेश तथा केन्द्र सबै तहको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था महाधिवेशनले पारित गरेको विधान संशोधन समितिका संयोजक निरञ्जन थापा जानकारी दिए । महाधिवेशनमा देशभरिबाट झण्डै ४६ सय प्रतिनिधि सहभागी छन् ।

राप्रपा नेता मोहन श्रेष्ठकाअनुसार महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ । एकता महाधिवेशनको हिजो काठमाडौंको भृकुटीमण्डपमा अध्यक्षत्रय थापा, राणा र लोहनीले उद्घाटन गरेका थिए ।

को–को छन् पदाधिकारीका आकांक्षी ?
लामो समयदेखि अध्यक्ष रहेर देशभर संगठनमा पकड जमाएका थापा र संघीय संसद लिङ्देन प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा छन् । महाधिवेशनमा राप्रपाको नयाँ नेतृत्वका लागि ४६ सय प्रतिनिधिले मतदान गर्नेछन् ।

राप्रपाको विधानअनुसार एक अध्यक्ष, महिलासहित ४ उपाध्यक्ष, महिलासहित ३ महामन्त्री गरी ८ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । सहमहामन्त्री, सहायक महामन्त्री, कोषाध्यक्ष र प्रवक्तालाई केन्द्रीय समितिले मनोनित गर्ने व्यवस्था छ ।

थापाको पक्षबाट उपाध्यक्षमा निर्माण व्यवसायीसमेत रहेका चितवनका विक्रम पाण्डे, बुद्धिमान तामाङ, जयन्त चन्द (लोकेन्द्रबहादुर चन्दका छोरा) र रोशन कार्की (महिला) छन् । यस्तै महामन्त्रीमा भुवन पाठक, कुन्ती शाही र ध्रुवबहादुर प्रधान उम्मेदवारी दिने तयारीमा छन् । महाधिवेशनमा आफूले जित्ने दाबी थापा प्यानलले गरिरहेको छ ।

यता लिङ्देनले पनि प्यानल नै बनाएर चुनावी प्रचार गरिरहेका छन् । महाधिवेशनस्थलत भृकुटीमण्डपमा लिङ्देन पक्षकै प्रचार बढी छ । उनको तस्विरसहितका ठाउँ ठाउँमा फ्लेक्स टाँगिएका छन् । लिङ्देनको प्यानलबाट महामन्त्रीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबरा, अभिनेत्री रेखा थापा, जगत गौचन र रामचन्द्र राय यादव चर्चामा छन् । त्यसमध्येमा एक जनालाई उपाध्यक्ष बनाएर भए पनि प्यानल घोषणा तयारी भएको छ । ‘अहिलेसम्म छलफल जारी छ, चाँडै टुंगो लगाएर घोषणा गर्छौं, लिङ्देन निकट नेता राजेन्द्र गुरुङले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु