कांग्रेस महाधिवेशन : पाँच हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन, ड्रोनबाट निगरानी

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०८:४३

 कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार) बाट शुरु हुँदैछ । कांग्रेस महाधिवेशनलाई मध्यनजर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप पाँच हजार प्रहरी परिचालन गरिएको छ । भृकुटीमण्डपमा शुक्रबार हुने उद्घाटन सत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका कारण काठमाण्डौ भित्रिनेहरुको चाप बढेको छ । कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता काठमाण्डौ आउन थालेका हुन् । मुख्य नाकासँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा चाप बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

गएको २४ घण्टामा काठमाडौंसँग जोडिएका विभिन्न पाँच नाकाबाट झण्डै ५० हजार यात्रु भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यो अवधिमा ८ हजार ६ सयभन्दा धेरै गाडी उपत्यका भित्रिएका छन् । यो संख्या आज अझै बढ्न सक्ने अनुमान गरिएको छ । यसअघि सामान्य दिनमा विभिन्न नाका भएर ६/७ हजारको हाराहारीमा गाडी उपत्यका भित्रिने गरेका थिए । कांग्रेस महाधिवेशनका कारण काठमाण्डौमा चहलपहल बढेको छ ।

बिहान ९ बजेसम्म ओहोरदोहोरमा खासै समस्या नभए पनि त्यसपछि जाम हुने गरेको छ । बढ्दो चापलाई मध्यनजर गर्दै आज गाडी डाइभर्सन गर्ने तयारी छ । अहिले बिहान चाप धेरै नभएकाले सामान्य रुपमा गाडी चलिरहेका छन् । चाप बढ्ना साथ राष्ट्रिय सभागृह र पद्मोदय मोडबाट गाडी डाइभर्सन गर्ने तयारी भएको महाशाखाले जनाएको छ । दिउँसोको समयमा भीड हुन सक्ने भएकाले सकेसम्म यो सडकको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीको अनुरोध छ ।

एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिने छन् । महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । बिहीबार रातिसम्म सबै उपत्यका आइसक्ने एआईजी पालले बताए । पाहुना तथा प्रतिनिधि बसेका होटल, विशिष्ट पाहुनाको मुभमेन्ट हुने स्थानसम्ममा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

तालिमप्राप्त कुकुर समेत परिचालन गरिएका छन् । काठमाडौंका विभिन्न चेकपोष्ट, सुनधारा, बागबजार, ठमेल र दरबारमार्गमा अतिरिक्त प्रहरी परिचालित छन् । कार्यक्रममा हेड क्वाटरबाट थप एक हजार प्रहरी समेत खटिने एआईजी पालले जानकारी दिए । विभिन्न शाखाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला इन्चार्जलगायत सबै सुरक्षा निकायका प्रमुखको पनि निगरानी रहने छ ।

उनले सवै सुरक्षा तयारी भएको जानकारी दिदै सुरक्षाका लागि स्थानीय प्रहरीले गस्ति गर्ने, शंकास्पद स्थानमा निगरानी गर्ने, भित्री सुरक्षाको लागी प्रहरी परिचालन गरिएको बताए । कार्यक्रम स्थलको मेन गेटमा इन्टल गर्ने, डग स्निग्नीङ, सिसिटिभीबाट समेत निगरानी हुनेछ । भृकृटी मण्डप अगाडी रहेको पुलिस क्लबमा कार्यक्रम स्थलको भिडियो ठूलो स्क्रिनिन मनिटरिङ हुनेछ । ड्रोन क्यामराबाट फोटो र भिडियो लिने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु