नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०४:४७

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

बुधबार बिहान सकिएको अन्तिम मतपरिणाम अनुसार देउवा २७२४ मत ल्याएर कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। कोइरालाले १८१७ मत प्राप्त गरे । देउवाले निकटतम् प्रतिद्वन्द्वी डा. कोइरालालाई ९०७ मतले हराएका हुन् ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।

दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४५७४ मत खसेको थियो। त्यसमध्ये ३३ मत बदर भएको थियो।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन : मतदान भएको हो । पहिलो चरणमा कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।

दोस्रो चरणमा देउवालाई ३७१ मत ल्याएका सिंह, २४९ मत ल्याएका निधि र केबल २० मत ल्याएका गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिएका छन् ।

दोस्रो चरणमा दिउँसो साढे ३ बजेपछि ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु