२ मत बढी ल्याएर धनराज गुरुङ बने कांग्रेस उपसभापति

छिनोफानो   बिहिबार ०१, पुष २०७८ ०८:३६

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन्। गुरुङ निकटतम प्रतिद्वन्दी विजयकुमार गच्छदारभन्दा २ मत बढी ल्याएर उपसभापति बनेका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार खड्काले २१२१ मत प्राप्त गर्दै पहिलो उपसपभाति बनेका छन्। कांग्रेस विधानले दुई उपसभापति रहने व्यवस्था गरेको छ।

दोस्रो उपसभापतिका लागि भने गुरुङ र गच्छदारबीच कडा प्रतिस्पर्धा भएको छ। गुरुङले १९०८ र गच्छदारले १९०६ मत प्राप्त गरेका छन्।

उपसभापतिमा निर्वाचित खड्का यसअघि महामन्त्री थिए भने गुरुङ केन्द्रीय सदस्य थिए। गुरुङ १३औं महाधिवेशनमा पनि लोकप्रिय मत लिएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

खड्का कांग्रेस सपभाति शेरबहादुर देउवा र गुरुङ डा। शेखर कोइराला टिमका हुन्।

यस्तै, उपसभापतिमा चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।

कांग्रेसमा पहिलो पटक उपसभापति निर्वाचित भएका हुन्। यसअघि उपसभापति मनोनित गर्ने व्यवस्था थियो।

उपसभापतिका लागि पनि सोमबार मतदान भएको थियो। तर, सभापतिमा दोस्रो चरणको मतदान भएपछि उपसभापतिको मत गणना भएको थिएन। सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।

उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा भएको थियो। साँझ ५ बजेदेखि शुरु भएको मतगणना राति २ बजे सकिएको थियो।

उपसभापतिका लागि ४६८९ जनाले मतदान गरेका थिए। महाधिवेशनमा ४७४३ मतदाता थिए।

आज महामन्त्रीको मत गणना हुने भएको छ। त्यसपछि सहमहामन्त्रीको मतगणना हुने निर्वाचत समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु