सानेपामा नारा : कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री !

छिनोफानो   बिहिबार ०१, पुष २०७८ ०३:३८

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा जितनजिक पुगेका छन्।  

 

 

३ हजार ८ सय ६७ मत गणना हुँदा थापाले सर्वाधिक २ हजार ५ सय १८ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका शर्माले १ हजार ५ सय ९० मत ल्याएका छन्। 
थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

सभापति शेरबहादुर देउवा निकट शर्माले उनको प्यानलमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि कोइरालाको प्यानलबाट लड्ने चर्चा चलेको थियो । अन्ततः उनी सिंहको प्यानलबाट उठेर चुनाव लडेका हुन्। 

देउवा प्यानलका डाक्टर प्रकाशशरण महत १ हजार २ सय ९६ र प्रदीप पौडेल १ हजार १ सय ६७ मतसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । शेखर कोइराला प्यानलका डा.मिनेन्द्र रिजाल ६ सय ७९ र विमलेन्द्र निधि प्यानलका डा.राजाराम कार्कीले जम्मा ८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। 

युवा नेताद्वय थापा र शर्मा अत्यधिक मतसहित जितनजिक पुगेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा युवा कार्यकर्ताको भीड लागेको छ । उनीहरुले ‘कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री’, 'गगन दाइ हाइहाई' 'विश्वप्रकाश हाइहाई' भन्ने नारा लगाइरहेका छन् । 

मतगणना सुरु हुँदा सुनसान देखिएको पार्टी कार्यालय बाहिर अहिले कांग्रेस कार्यकर्ताको ठूलो भिड लागेको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु