नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा शुरु

  आइतबार ११, पुष २०७८ १०:४१

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि काठमाडौंमा शुरु हुँदैछ । पहिले राष्ट्रिय सम्मेलन भनेको माओवादी केन्द्रले अन्तिममा यसैलाई आठौं महाधिवेशनको रूप दिने निणर्य गरेको हो । यसअघि २०५९ माघमा हेटौंडामा माओवादी केन्द्रको सातौं महाधिवेशन भएको थियो ।

आज दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ । उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत ११ पार्टीलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि गत मंसिरमा नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रलाई बोलाए पनि अध्यक्ष प्रचण्ड गएनन्, नेता लीलामणि पोखरेललाई पठाए । अब अहिले माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली आउलान् किन नआउलान् ? चासोको विषय बनेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता गरी नेकपा बनाएर दुई अध्यक्ष बनेका ओली र प्रचण्ड नेकपा भंग भएयता एकअर्काविरुद्ध कटु आलोचनामा उत्रिएका देखिन्छन् । उनीहरूबीच धेरै महिनापछि अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा एकै मञ्चमा भेट भएको थियो । त्यसैगरी एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि धेरै समयपछि त्यही बेला ओलीसँग एकै मञ्चमा देखिएका थिए । तर यी तिनै नेताले सम्बोधनका क्रममा एकअर्काको नाम लिनुपर्छ भनेर अतिथिहरूलाई एकमुस्ट रूपमा अतिथि गण भनेका थिए । माधव नेपाललाई एमालेले आफ्नो महाधिवेशन उद्घाटनमा बोलाएन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु