प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि १२ बजेसम्म छलफल हुने

छिनोफानो   बुधबार १४, पुष २०७८ ०८:४८

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल भइरहेको छ । आज दिउँसाे १२ बजेसम्म प्रतिवेदनमाथि छलफल हुने गरी समय थप गरिएको छ ।

प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको  विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । धेरैजसो समूहले हिजो नै छलफल सकाएका छन् ।

बाँकी रहेका समूहले आज दिउँसो १२ बजेसम्म छलफल गर्ने छन्  । छलफलबाट आएका सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरुले आज १२ बजेपछि महाधिवेशन भइरहेको ठाउँ प्रज्ञा भवनमा निष्कर्ष सुनाउने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।  छलफलको निष्कर्ष सुनाउन हरेक समन्वयकर्ताले १५ मिनेटको समय पाउने छन् । दिउँसो  १ बजेदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । यसैबीच, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राख्नु भएको छ । ‘केही पूरक, केही नवीन धारणाहरु’ शीर्षकमा नेता कार्कीले फरक प्रस्ताव राख्नुभएको हो । फरक मतमा उहाँले विभिन्न शीर्षकमा धारणा सार्वजनिक गर्नुभएको छ । अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, सङ्घीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो मूल बाटो, तत्काल गर्नुपर्ने काम लगायत शीर्षकमा कार्कीले धारणा सार्वजनिक गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु