विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा सुरू

छिनोफानो   शुक्रबार ०१, असोज २०७८ ११:१६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ । खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको पहिलोपटक हो ।

बन्दीपुरको एक होटलमा आयोजित बैठक असोज ५ गतेसम्म चल्ने छ ।

तत्कालीन माओवादीबाट अलग भएर भूमिगत गतिविधि गर्दै आएको विप्लव समूह र केपी शर्मा ओली नेतृत्वको सरकारबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । सो सहमतिसँगै सो समूहमाथि प्रतिबन्ध फुकुवा भएको थियो । खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा,रणनीति लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

सुरक्षा र  मेस आफ्नै

बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना पार्टी कार्यकर्ताहरुले मेस चलाएको जिल्ला सचिव एटमले बताए । उनका अनुसार बैठक बस्ने हल कोठा भने होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएका छन् ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार नै बन्दीपुर पुगेका थिए ।

सो होटलमा नेताहरुको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवाहरुलाई खटाइएको छ ।

बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए ।

बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु