भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

छिनोफानो   सोमबार १९, पुष २०७८ ०८:४१

अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन् ।

अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई १० वर्षीया छोरीलाई विवाहका नाममा बिक्री गरेका थिए । अरू ५ बालबालिकाको भरणपोषणका लागि उनका पतिले अग्रिम भुक्तानीमा ती छोरीलाई बेचेका थिए । छोरीलाई बेचेर भएको आम्दानीले अरू सदस्य भोकभोकै बस्नुनपर्ने उनका पतिको तर्क थियो । परिवारका अरू सदस्यलाई बचाउन एक जनाको बलिदान गर्नुपरेको धारणा उनको थियो ।

गरिबीका कारण अफगानिस्तानका अरू कैयन असहाय अभिभावक यस प्रकारको निराशाजनक निणर्य लिन बाध्य छन् । तालिबान समूहले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि गत अगस्तमा अमेरिकी तथा नाटो सैनिक बाहिरिएका थिए । बाह्य अुनदानमा आश्रित अफगानिस्तानको अर्थतन्त्र विदेशी सैनिकको बहिर्गमनअगाबै कमजोर थियो । यसबीच तालिबानसँग सहकार्य गर्न अनिच्छुक विश्व समुदायले देशबाहिर रहेको उसको सम्पत्ति फ्रिज गरेको छ भने अन्य अनुदान पनि रोकेको छ ।

२० वर्षअघि सत्तामा रहँदा तालिबानले गरेको ज्यादती फेरि दोहोरिन सक्ने आशंका विश्व समुदायलाई छ । चार दशक लामो युद्ध खेपेको यो देश चर्को खडेरी तथा कोरोना भाइरस महमारीका कारण संकटमा छ । डाक्टरसहित अन्य सरकारी कर्मचारीले महिनौंदेखि मासिक तलब पाउन सकेका छैनन् । कुपोषण तथा गरिबीका कारण यहाँको ठूलो जनसंख्या जोखिममा छ । दातृ संस्थाका अनुसार अफगानिस्तानको आधा जनसंख्या गम्भीर खाद्य संकटमा छ ।

‘दिनानुदिन यहाँको स्थिति बिग्रँदो छ, विशेषगरी बालबालिका यसबाट सबैभन्दा बढी प्रभावित छन्,’ अफगानिस्तानमा कार्यरत दातृ निकाय वल्र्ड भिजनका राष्ट्रिय निर्देशक असुन्था चार्ल्स भन्छिन् । उनको संस्थाले अफगानिस्तानको पश्चिमी सहर हेरातनजिकै विस्थापित सर्वसाधारणका लागि हेल्थ क्लिनिक सञ्चालन गर्दै आएको छ ।

‘परिवारका अन्य सदस्यलाई बचाउन आफ्ना बालबालिका बेच्न बाध्य भएको देख्दा म अत्यन्त मर्माहत भएकी छु,’ उनले भनिन् । मानवतावादी विश्व समुदायले अफगान जनतालाई सहयोग गर्न आवश्यक रहेको उनको कथन थियाे । अत्यन्त सानो उमेरमा किशोरीको विवाह गर्नु यो क्षेत्रको आम प्रचलन हो । टाढाको नाताका दुलाहाको परिवारले पैसा तिरेर यस प्रकारको सम्झौता गर्ने गर्छन् र सामान्यतया उमेर १५-१६ वर्ष नभएसम्म किशोरी माइतीमै बस्ने गर्छन् । तर आधारभूत खाद्यवस्तुको अभावमा दुलाहाले त्यसअघि नै किशोरी दुलहीलाई भित्र्याउन अनुमति पाउँछन् ।

आर्थिक अवस्था सारै खस्किएपछि कतिपयले आफ्नै किशोर छोरालाई बेच्न चाहेको देखिन्छ । तर १० वर्षीय किशोरीकी आमा गुल आफ्नी छोरी बेच्न अनिच्छुक छिन् र उनले यसको प्रतिरोध गरेकी छिन् । १५ वर्षमै बिहे गरेकी गुलले छोरीलाई बलजफ्ती गरेमा आत्महत्या गर्ने चेतावनी दिएकी छिन् । उनले आफ्नी छोरी क्वान्डी गुललाई बेचिएको कुरा तुरुन्त थाहा पाएकी थिइन् ।

पछिल्लो २ महिना परिवारले सहज रूपमा खाना खान पाएको थियो । जब उनले पैसा कहाँबाट आएको हो भनेर सोधिन्, उनका पतिले विवाहको बारेमा बताएका थिए । ‘त्यो सुन्दा मेरो मुटुको धड्कन रोकियो । म मरेको भए हुन्थ्यो भन्ठानें तर मलाई मर्न नदिने भगवान्को इच्छा हो कि भन्ने ठानें,’ गुलले भनिन् । उनले त्यो घटना सम्झिँदा आफू मरेतुल्य हुने गरेको बताइन् । उनले यसो किन गरेको भनेर बारम्बार पतिलाई सोध्ने गरेकी छिन् ।

‘एक जनाको बिक्रीले अरू बाँच्न सक्ने भनेर उस (पति) ले भन्ने गरेको छ’, उनी थप्छिन् । ‘तिमीले गरेको कामभन्दा त मृत्यु श्रेयस्कर हुने थियो,’ उनले पतिलाई भन्ने गरेकी छिन् । गुलले समुदायका अन्य सदस्यलाई आफूलाई थाहै नदिई छोरी बेचिएको बताइन् । समुदायका सदस्य उनको समर्थनमा उभिए र उनीहरूको सहयोगमा उनले किशोरी छोरीको सम्बन्ध विच्छेद गर्न सक्ने भइन् । तर छोरी बेचेबापत पतिले लिएको एक हजार अमेरिकी डलर तिर्न सकेमात्र उनले छोरीलाई बचाउन सक्ने भइन् ।

उनीसँग यति ठूलो रकम छैन र उनका पति भागिसकेका छन् । सरकारी अधिकारीसमक्ष बेइज्जत हुने डरले उनका पति भागेको हुन सक्छ । तालिबान सरकारले महिला तथा किशोरीको बलजफ्ती विवाहमा बन्देज लगाएको छ । यसैगरी आपसी विवाद मिलाउन महिला तथा किशोरीलाई टोकनका रूपमा प्रयोग गर्न पनि नपाइने व्यवस्था छ ।

बेचिएकी छोरीमाथि दुलाहा परिवारले बारम्बार दाबी गरेको बताउँदै गुलले थपिन्, ‘मैले कहिलेसम्म थेग्छु थाहा छैन । म हतास भएकी छु । मैले छोरीलाई आफैंसँग राख्न नसकेमा र उनीहरूलाई पैसा तिर्न नसकेमा मसँग आत्महत्याबाहेक अरू विकल्प छैन ।’ दिउँसो काम गर्न जाँदा उनले आफ्ना केटाकेटीलाई आमाको जिम्मा लगाउने गरेकी छिन् । उनका १२ वर्षीय छोरा विद्यालयबाट फर्केपछि केसर (स्याफ्रोन) टिप्न जान्छन् । केसर टिप्ने सिजन छोटो अवधिको हुने भएकाले त्यो आम्दानी पनि दीर्घकालीन बन्दैन । ‘हामीसँग केही बाँकी छैन,’ गुल भन्छिन् ।

विस्थापित सर्वसाधारण रहेको यो क्याम्पको अर्को भागमा चार बच्चाका पिता हमिद अब्दुलाहको पीडा उस्तै छ । उनी गम्भीर बिरामी परेकी तथा गर्भवती आफ्नी पत्नीलाई बचाउन आवश्यक पैसाका लागि मागी विवाहमार्फत छोरीहरूलाई बेच्न बाध्य भएका छन् । उनले पत्नीको उपचारका लागि लिएको ऋण तिर्न सकेका छैनन् । त्यसैले ३ वर्षअघि उनले सबैभन्दा जेठी छोरी (जो अहिले ७ वर्षकी भएकी छन्) को १८ वर्षीय किशोरसँग विवाहका लागि अग्रिम भुक्तानी लिएका थिए । अहिले उनी आफ्नी ६ वर्षीया माइली छोरी नाजियाको यस्तै विवाह गर्न वरको खोजीमा छन् ।

‘हामीसँग खानेकुरा केही छैन । पत्नीको उपचारका लागि झन् धेरै पैसा चाहिएको छ । उनको अर्को सर्जरी हुन लागेको छ । कसैले पनि मलाई सहयोग गरेको छैन,’ अब्दुलाह आफ्नो पीडा सुनाउँछन् । जेठी छोरी ठूली नभएसम्म सम्झौताअनुसारको बाँकी रकम नपाइने भएकाले माइली छोरीलाई दुई सयदेखि तीन सय अमेरिकी डलरको सम्झौतामा विवाह गर्न उनी तयार छन् । ‘हामीसँग अरू विकल्प छैनन्,’ उनकी श्रीमती बिबी जान भन्छिन् । ‘जति बेला हामीले छोरीका बारेमा यो निणर्य गर्‍यौं, आफ्नै शरीरको अंग कसैले लगेको जस्तो महसुस भयो,’ उनी थप्छिन् ।

नजिकको अर्को प्रान्त वादगिसमा रहेको एक परिवारले ८ वर्षीय छोरालाई बेच्न चाहेको छ । कैयन दिनसम्म केही खान नपाएपछि ती छोराकी आमाले नजिकैको बजारमा लगेर आफ्नो छोरालाई बेच्न पतिलाई भनिसकेकी छिन् । ‘म मेरो छोरालाई बेच्न चाहन्नँ तर मैले त्यसै गर्नुपरेको छ’, ३५ वर्षीय आमाले भनिन् ।

‘कुनै पनि आमाले त्यसो गर्न चाहँदैनन् तर अरू कुनै विकल्प नभएपछि इच्छाविपरीत पनि निणर्य लिनु पर्दोरहेछ,’ उनी भन्छिन् । उनका पतिको मिर्गौलामा समस्या छ र एउटा आँखा देख्दैनन् । छोरा बेच्न दुईपटक बजार गएको तर नसकेको प्रतिक्रिया उनका पतिको छ । ‘तर अब मसँग अरू विकल्प छैन, उसलाई बेच्नबाहेक,’ ती पिता भन्छन् । त्यसो त किशोरीको भन्दा किशोरको बेचबिखन अलि कम हुने गर्छ । तर छोरा नभएका परिवारले सानो उमेरका किशोरलाई खरिद गर्ने गरेको देखिएको छ ।

भोकमरीको समस्या बेहोर्न बाध्य लाखौं अफगानी परिवारमा निराशा छाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यस देशमा ५ वर्षमुनिका ३२ लाख बालबालिका गम्भीर कुपोषणबाट आक्रान्त छन् । वर्ल्ड भिजनकी असुन्था चार्ल्स अफगानिस्तानमा मानवीय सहयोगको ठूलो आवश्यकता रहेको ठान्छिन् । ‘अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धतामात्र होइन, वास्तविक सहयोग पुर्‍याउन आवश्यक छ,’ उनी भन्छिन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु