सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति

छिनोफानो   मङ्गलबार १८, माघ २०७८ ०४:४०

सरकारले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति भएको हो ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनाएको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् । ‘सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बन्यो । प्रधानमन्त्री ज्यूले तयारी अघि बढाउन भन्नु भएको छ, अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

आयोगले यसअघि एकै चरणमा भए बैशाख १४ र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन । गत शनिबार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भएपनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए ।

प्रधानमन्त्री देउवाले कानुनमा संशोधन नगरी जेठ ४ मै स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई छलफलकालागि बोलाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिदैछ । त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यताबमोजिम निर्वाचनको मिति तय गरिएको हो ।

‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानून बमोजिम आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने हो । तर, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरु निरन्तर गरिरहेकोले जेठ ४ मा निर्वाचन सकिने सुझाव दियौँ,’ छलफलपछि आयोगका एक पदाधिकारीले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु