गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी सरकारबाट बाहिरिने

छिनोफानो   बुधबार ०४, फागुन २०७८ १२:२७

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसदबाट पारित गर्न नसकिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए। उनले एमसीसी परियोजना अगाडी बढाउने हो भने राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमती बनाउनुपर्ने बताए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु नभइकन कुनै पनि एजेण्डाहरु अगाडी बढ्न नसक्ने उनले स्पष्ट पारे। प्रमुख प्रतिपक्षलाई सदन सुचारु गर्न आग्रह गर्ने पनि उनले बताए।

सत्तारुढ दलको सहमतीबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वत्ः तोडिने प्रमुख सचेतक गुरुङले बताए। गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उनले बताए। उनले भने, ‘सरकारले जर्बजस्ती गर्न खोज्यो भनेदेखि त अब सहमती बिना गर्ने कुरा त सरकारले गठबन्धन तोडेर गर्ने कुरा हो। गठबन्धन तोडेर गइसकेपछि सरकारमा रहने कुरा सायद आउँदैन। सरकारबाट बाहिरीने कुराको बारेमा चाहीँ मैले भनिहाले नि, हामी पाँच दलको सहमती बिना, पाँच दलको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन।' 

'सरकारको निर्णय पाँच दलको निर्णयको आधारमा हुन्छ। गठबन्धनको प्रणाली अनुसार दलहरुको सहमतीको आधारमा गठबन्धनको निर्णय नै सरकारको निर्णय हुन्छ। गठबन्धनको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन। त्यसकारणले गर्दाखेरी गठबन्धनको निर्णय बिना सरकारले अथवा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ। गठबन्धन तोडियो भने सरकार पनि स्वत्ः तोडिने कुरा आउँछ।’

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु