कांग्रेसका फुच्चे नेता गगन थापाले संसदमा फजुल कुरा गरेः झलनाथ खनाल

छिनोफानो   सोमबार १६, फागुन २०७८ ०४:३९

काठमाडौं, १६ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाशक्तिसामु नेतृत्वपंक्तिले खुट्टा टेक्नुपर्नेमा घुँडा टेकेर राष्ट्रको हितलाई तिलाञ्जलि दिएकाले हिजोको दिन नेपालको इतिहासमा राष्ट्रिय लज्जाको दिन भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “एमसीसीमा ३०-४० वटा राष्ट्रलाई घात गर्ने कुरा थिए । तर १२ वटा सैद्धान्तिक बुँदा अघि सारेर अनुमोदन गरे । सबै कुरा सच्चिन्छन् भनेर पार्टीका साथीहरुलाई हाम्रो नेतृत्वपंक्तिले ढाँट्यो । नेतृत्वपंक्तिले खुट्टा टेक्नुपर्नेमा महाशक्तिसामु घुँडा टेकेर राष्ट्रको हितलाई तिलाञ्जलि दिने काम भएको छ । नेपालको इतिहासमा हिजोको दिन राष्ट्रिय लज्जाको दिन हो ।”
तर तपाईंहरु सबै लुरुलुरु गएर पारित गर्नुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “होइन, मैले हिजो भोट गरिनँ । मैले लामो समयदेखि नो एमसीसी भन्दै आएको छु । हाम्रो स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षले एक जना वकिल बोलाउनुभएको रहेछ । उनले रिजर्भेसनका कुरा यसरी यसरी सच्चाउन सकिन्छ भनेर कन्भिन्स गराउन खोजे । त्यसमा स्थायी समितिका साथीहरु लरक्क परे । यो त जनतालाई सरासर ढाँट्ने र ठग्ने कुरा भयो । जनताले संघर्ष नगरेको भए यति पनि हुने थिएन । सबै सच्चाउन सकेको भए जनताले शिर ठाडो पार्ने कुरा हुन्थ्यो ।”

“पार्टीका साथीहरु मुख्य नेताले भनेकै सत्य हो भनेर पछि लागे”
पार्टीभित्र त तपाईं एक्लै पर्नुभयो नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, “पार्टीभित्र एक्लै परे पनि मलाई केही (चिन्ता) छैन । कहिलेकाहीँ त्यस्तो हुन्छ । साथीभाइहरुमा मुख्य नेताले भनेको नै सत्य हो भनेर पछि लाग्ने प्रवृत्ति हुन्छ । त्यसमा मलाई केही भन्नु छैन । तर नेताले देश र जनताको हितमा उभिनुपर्छ । अन्ततः त्यो सफल हुनु अनिवार्य छ ।”
एमसीसीमा साथ नदिएको भए तपाईंहरुले सरकार छाड्नुपथ्र्यो, निर्वाचनमा हार्ने सम्भावना हुन्थ्यो नि भन्ने अर्को प्रश्नमा खनालले थपे, “हाम्रो बैठकमा एमाले र कांग्रेस मिल्ने भए, हाम्रो सांसद पद पनि जाने भयो, सरकारबाट हट्नुपर्ने भयो, पार्टी पनि नरहने भयो, हामी बरबाद हुने भयौं भन्ने कथा सुनाए । त्यो वाहियात कुरा हो । हाम्रो मिसन क्रान्तिकारी पार्टी बनाउने हो । ५, ६ महिनामै देशव्यापी रुपमा पार्टी अझ बेगका साथ अगाडि बढ्ने थियो । सत्तामा बस्दा जितिने, नबस्दा हारिने पनि हुन्छ र ? अब त भिन्न परिस्थिति भयो । कतिले छाड्लान्, कति आउलान् ? पार्टी नै विभाजित छ ।”

“नेताहरूलाई सत्ता र कुर्सीको मात्र मतलब छ”
प्रचण्ड र माधव नेपालको भूमिकालाई तपाईंले कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा नेता खनालले भने, “प्रचण्ड वा माधवकुमार नेपालका बारेमा मलाई भन्दा उहाँहरुलाई नै सोध्नु राम्रो हुन्छ । अहिले जजसले समर्थन गरेका छन्, ती कुर्सीमुखी हुन् । उनीहरुलाई सत्ता र कुर्सीको मात्र मतलब छ । उनीहरुलाई देश, जनता जोगाउने कुरा आएन । यो दुःखद कुरा हो ।”
तपाईंहरुलाई मन्त्रीले नै साथ नदिने स्थिति आयो नि भन्ने प्रश्नमा एकीकृत समाजवादीका सम्मानित नेता खनालले भने, “हाम्रा मन्त्रीहरु पनि कुर्सीमुखी भए । सबैले मन्त्रीहरुको खुट्टी देखेका छन् । तिनले कति अध्ययन गर्छन्, कति बुझ्छन्, राष्ट्रप्रतिको प्रतिबद्धता कति छ ? एमसीसी प्रकरणमा उनीहरुको चरित्र देखिइसकियो ।”

“एमसीसी अनुमोदनका नाममा कलाविहीन नाटक”
एमसीसी अनुमोदनका नाममा कलाविहीन नाटक नाटकीय ढंगले एमसीसी अनुमोदनको मञ्चन भएको उनको आरोप छ । उनले भने, संसद्मा कस्तो नाटक भयो हिजो ? प्रतिपक्षले जबर्जस्त नाराबाजी गरिरहेको थियो । हाउस चलाउने तरिका नै अलोकतान्त्रिक थियो । एमसीसीले सन्धिको हैसियत राख्दैन, करार सम्झौता मात्र हो । सन्धि ऐन नबनीकन मिचमाच गरेर अनुमादेन गरिएको छ । यो त कलाविहीन नाटक हो ।”

“जनताले कार्यान्वयन गर्न नदिन सक्छन्”

एमसीसी अनुमोदन भए पनि कार्यान्वयन जटिल रहेको पनि उनको धारणा छ । खनालले भने, “कतिपय व्यक्ति एमसीसी प्राजेक्टको ५० करोड डलरका पछाडि जसरी लागेका छन्, त्यसमा मान्नै नसकिने सर्तैसर्त छन् । हिजोको विरोध कुन मुखले गरेका हुन्, अब कसरी कार्यान्वयन गर्छन् ? जनतालाई जवाफ दिनुपर्यो । जनताले कार्यान्वयन गर्न दिन्छन् कि दिँदैनन् ? अहिले पनि जनताको विरोध जारी छ ।”
उनले महाकाली सन्धि गर्दा पनि संकल्प प्रस्तावको नाटक गरेको आरोप लगाए । उनले थपे, “हिजो महाकाली सन्धिमा पनि सकंल्प प्रस्ताव राखिएको थियो । सन्धिका पक्षधरले अब पश्चिमबाट घाम झुल्कने भयो, १ खर्ब ३० अर्ब आम्दानी हुन्छ, नेपालको कायाकल्प हुन्छ भनेका थिए । हिजो सन्धि गर्ने ठाउँमा केपी ओली र माधव नेपालले नै थिए । त्यसले के दियो नेपाललाई ? हामी जिरो होइन, जिरोबाट माइनस भएका छौं । अहिले पनि व्याख्यात्मक घोषणाको कुनै अर्थ रहेन । एमसीसी सम्झौता आईपीएसको अंग हामीले भनेका होइनौं, अमेरिकाकै तीन मन्त्री र दस्तावेजले भनेको कुरा हो ।”

“सडक आन्दोलनलाई झलनाथको समर्थन हुन्छ”
भोलिदेखि तपाईं सडक आन्दोलनमा जानुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हिजो हाम्रो पार्टीको मोर्चा विभागले एमसीसीका घातक प्रावधानलाई लिएर सडकमा आन्दोलन गर्यो । म त्यसलाई हार्दिक अभिनन्दन गर्न चाहन्छु । संघर्षको कारणले नै डिक्लेरेसनको बाइप्रोडक्ट आएको हो । तर त्यो अपुरो, अधुरो र आंशिक मात्र हो । पूर्ण स्वाधीनता जोगाउन गरेको आन्दोलन जारी छ । आन्दोलन जनताको प्राकृतिक हकको कुरा हो । देशभक्तिको आवाज सरकार, सदन र सडक जहाँबाट पनि उठाउन सकिन्छ । भोलि कोही देशभक्तिको माग राखेर सडकमा आउँछन् भने झलनाथ खनालले समर्थन हुन्छ ।”

“कांग्रेसका फुच्चे नेता गगन थापाले फजुल कुरा गरे”
एमसीसी सम्झौतामा तपाईं पनि सामेल हुनुहुँदो रहेछ, हिजो संसद्मा गगन थापाले बोल्दा तपाईं संसद्मै हुनुहुन्थ्यो होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, हो, गगन थापा भन्ने नेपाली कांग्रेसको फुच्चे नेताले फजुल कुरा गरे । मेरो प्रश्न छ, झलनाथ खनालको पालामा एमसीसी कहाँ भएको थियो ? कसरी त्यो कुरा भएको छ ? दिवंगत नेता भरतमोहन अधिकारी अमेरिका गएर एमसीसी अघि बढाएको बोलेका छन् । आफूले घुँडा टेक्दा फलाना फलानाले पनि घँुडा टेकेका थिए भन्ने ? आफ्नो गद्दारीलाई ढाकछोप गर्न अरुले पनि गद्दारी गरेका थिए भन्ने ? यस्तो पाजी वहसले हुन्छ ? प्रमाण छ भनेर भुक्नुभन्दा के के प्रमाण छ, त्यो बजारेको भए हुन्थ्यो नि । यस्ता मानिस भोलि सत्तामा पुगे भने के गर्लान् ?”

घुँडा टेकर पास गराउनु कुनै जित नभएको उनले बताए । नेता खनालले भने, हिजो संसद्मा घुँडा टेकेर पास गराउनु कुनै जित होइन । त्यसलाई कसैले जित ठान्न सक्छ । तर विचार राखेका कारण हारेँ भन्ने मलाई लागेको छैन । जनताले हार्दैनन् । जनता नै इतिहासको चालक शक्ति हुन् ।

“अमेरिकी मन्त्रीले दादागिरी देखाएपछि चीनले अलिकति बोल्यो”
एमसीसी पास नगर्न चीनले तपाईंलाई दबाब दिएको चर्चा पनि छ नि भन्ने प्रश्नमा उनले भने, “चीनले नेपालको आन्तरिक मामलामा कहिल्यै दबाब दिएको छैन । अमेरिकी सहायक मन्त्रीले दादागिरी देखाएको सन्दर्भमा चीनले अलिकति बोलेको हो । मलाई दबाब दिने कुरा छाडौं, हाम्रो सीमा समस्या पनि पश्चिमा अभिप्रेरित र चीनविरोधीले भनेका हुन् ।”

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु