रुसद्वारा युक्रेनको राजधानी किएभ सहित ४ सहरमा अस्थायी युद्धविराम

छिनोफानो   सोमबार २३, फागुन २०७८ ०३:२८

रुसले आक्रमण तीव्र बनाएको युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ र सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । ती सहरमा रहेका सर्वसाधारणलाई सहर छाडेर बाहिर जान सजिलो होस् भनेर स्थानीय समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गरेको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । 

युद्धका कारण सर्वसाधरणको अवस्था चिन्ताजनक भएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल  म्याक्रोको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको निर्देशन दिनुभएको हो । रुसले युद्धविरामका बारेमा संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय रेडक्रस लगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि जानकारी गराउँदै उद्धारमा सघाउन आग्रह गरेको छ । 

यसअघि मरिपोल सहरबाट सर्वसाधारणको उद्धारका लागि दुई पटक युद्धविराम गरेको भए पनि रुसी सेनाले आक्रमण नरोकेपछि उद्धार हुन सकेको छैन । 

यसैबीच चीनले युक्रेनमा चलिरहेको युद्ध तथा सङ्कटको समाधान वार्ता र संवादमार्फत गर्नुपर्ने बताएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीले पत्रकार सम्मेलनमा युक्रेनमा चलिरहेको युद्ध वार्ता, संवाद तथा शान्तिपूर्ण माध्यमबाट समाधान गरिनुपर्ने बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । रुस–युक्रेन वार्ताका लागि सहयोग गर्न चीन इच्छुक रहेको पनि चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । युक्रेनमा रुसले गएकाे १२ दिनदेखि आक्रमण गरिरहेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु