नेकपा (एकीकृत समाजवादी) को महासचिव को ?

छिनोफानो   बिहिबार ०७, असोज २०७८ ११:०७

काठमाडौं, असोज ७ । नेकपा (एकीकृत समाजवादी) का तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले पार्टीको महासचिव तोक्ने भएको छ । अहिले पार्टीभित्र डा वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा विजयकुमार पौडेल आदि महासचिवका आकांक्षी छन् ।आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले वरिष्ठता र सबै कमरेडलाई स्वीकार्य हुने व्यक्ति नै महासचिवको दाबेदार हुने पनि बताए । नेता ज्वालाले भने, ‘जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव समूहगत छलफल गरी सुझावसहित पारित भएको छ । आज संगठानिक प्रस्तावमा छलफल हुन्छ । केन्द्रीय समिति विस्तार, कार्यविभाजन र कार्ययोजनाबारे निर्णय गरी बैठक समापन हुनेछ । आजकै बैठकमा पार्टी अध्यक्षको प्रस्तावमा महासचिव, स्थायी समिति, पोलिटब्युरोको टुंगो लाग्छ ।’

ज्वालाका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटी २५१ जना हुनेछ भने त्यसको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति बन्नेछ । ज्वालाले भने, ‘त्यसलाई समावेशी बनाउनुपर्ने चुनौती छ । आठौं र नवौं महाधिवेशनलाई पनि मापदण्डमा समेटेका छौं । तर हामीबीच महासचिवबारे कुनै वादविवाद र उछिनपाछिन छैन, हार्दिक एकता छ । पार्टीले आवश्यक ठान्दा जो बन्दा पनि हुन्छ । तर व्यक्तिका बारेमा लोकतान्त्रिक ढंगको लामो छलफल भएको छैन ।’

नेता ज्वालाले सैद्धान्तिक र वैचारिक विमतिलाई लिएर गरिने गालीगलौज जसले गरे पनि त्यो बेठीक हुने बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु