आइतबार चितवनमा एमालेले बृहत् चुनावी सभा गर्ने

छिनोफानो   शनिबार २४, बैशाख २०७९ ०२:५०

आसन्न स्थानीय तह निर्वाचनको ‘इपी सेन्टर’ बनेको चितवनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शक्ति प्रदर्शनसहित आइतबार बृहत् चुनावी सभा गर्दैछ । क्याम्पा चौरमा १ बजे हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।यस्तै उपाध्यक्ष रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि चुनावी सभालाई सम्बोधन गर्ने एमाले बागमती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले जानकारी दिएका छन् । पाण्डे भरतपुर महानगरपालिकाको चुनावी ‘कमाण्डर’ हुन् । चितवन थापाको गृह जिल्ला हो, उनी शुक्रबार नै चितवन आइपुगेका छन् ।

त्यसबाहेक चुनावी सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि सम्बोधन गर्ने तयारी छ । चितवनमा एमाले र राप्रपाबीच गठबन्धन छ । ‘कार्यक्रम एमालेको आयोजनामा भए पनि विक्रमजीले पनि सम्बोधन गर्ने सम्भावना छ’, अधिकारीले सुनाए, ‘किनभने यहाँ राप्रपासँग हाम्रो गठबन्धन छ ।’


एमालेको चुनावी सभामा सहभागिता व्यापक बनाउन विभिन्न स्थानबाट नागरिक सभास्थल ल्याउन र लैजान निःशुल्क गाडीको व्यवस्था गरिएको प्रचार गरिएको छ । हिजोदेखि नै वडा नम्बर २१, २६ र २० लगायत वडामा माइकिङ गरेर त्यसको प्रचार गरिएको छ ।

सहभागी व्यापक बनाउन प्रचार प्रसार तीव्र पारिएको छ, शनिबार भरतपुर बसपार्क हुँदै, पुल्चोक नारायणगढ र क्याम्पाचौर आसपास मोटरसाइकल र्‍याली गरिएको अधिकारीले बताए । चुनावी सभाबारे एमाले चितवनले शनिबार १ः३० मा पत्रकार सम्मेलन गर्दैछ ।

यसैबीच एमालेको भरतपुर प्रमुखका उम्मेदवार विजय सुवेदी, चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहित जिल्ला नेताहरूको उपस्थितिमा पर्साघाटमा क्षेत्रीय चुनावी सभा राखेको छ । सुवेदी अहिले भरतपुरको वडा २६ को घरदैलो अभियानमा छन् । पाँच दलीय गठबन्धनले शनिबार वडा २७ र २८ मा घरदैलो अभियान गर्दै छ । सत्ता गठबन्धनले पनि यसअघि चितवन भरतपुरमा संयुक्त चुनावी सभा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु