अछाममा ओलीविरुद्ध नाराबाजी

छिनोफानो   आइतबार २३, असोज २०७९ ०५:४०

धनगढी-  अछाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नराबाजी गरिएको छ । भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित  ओलीविरुद्ध नाराबाजी गरेका छन्। 

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका भीम रावलको टिकट खासेर केन्द्रले झपट बोहरालाई दिएको विरोधमा उनीहरुले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका हुन्। अछाम क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार झपट बोहराले मनोनयन दर्ता गर्ने क्रममा नाराबाजी गरिएको हो।

नाराबाजी गर्ने बेला प्रतिनिधिसभा सदस्यको टिकट पाएका झपट बोहरा पनि मनोनयन दर्ता गर्न गइरहेका थिए। उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। उनीसँगै प्रदेशसभा (क) देवबहादुर कुँवर र प्रदेशसभा (ख) मा कृष्णप्रसाद जैशीले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्तापछि बोहराले भीम रावलको राष्ट्रियताको अडानलाई आत्मसात गर्दै रावलको सल्लाह लिएर अगाडि बढ्ने बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्।

यसअघि एमाले नेता रावलले उक्त क्षेत्रबाट विसं २०४८ सालदेखि नै चुनाव लड्दै आएका थिए। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए। रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुई चोटि सांसद बनेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु