आफूलाई विवादमा तान्न खोजियोः मुख्यमन्त्री भट्ट

छिनोफानो   आइतबार २३, असोज २०७९ ०६:४१

पार्टी नेतृत्वको निर्देशनअनुसार प्रदेश सभा सदस्यमा दोहोरिने तयारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्तिम समयमा आफूलाई विवादित बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । उम्मेदवारी दर्ताको अघिल्लो रात एकाएक टीकट अरुलाई दिएको विषयलाई आफूले सामान्य रुपमा नलिएको उनले बताएका छन् ।
 मुख्यमन्त्री भट्टले पार्टीभित्रको चलखेलले टीकट वितरणमा अनपेक्षित निर्णय भएको बताए । ‘केही दिनअघि मात्रै पार्टी अध्यक्ष प्रचण्डले मलाइ प्रदेश सभाको तयारी गर्न भन्नु भएको थियो । त्यहीँ अनुसार मैले साथीहरुसँग छलफल र तयारी पनि अगाडि बढाएको थिएँ ।’ उनले भने, ‘तर अन्तिम समयमा मेरो परामर्शविनानै टीकट बाँडिनुलाई मैले गम्भीरतापूर्वक लिएको छु ।’ मुख्यमन्त्री भट्ट लड्ने भनिएको डोटीको प्रदेश सभा क्षेत्र २ मा उनकै स्वकीय सचिव शिवसिंह ओलीले माओवादीबाट टीकट पाएका छन् ।
मुख्यमन्त्री भट्टले डोटीबाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्न चाहेका थिए । त्यहीँअनुसार पार्टीको जिल्ला कमिटीले उनको नाम सर्वसम्मत सिफारिस पनि गरेको थियो । तर एउटै निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एकीकृत समाजवादीले लिने सहमति केन्द्रमा सत्तारुढ दलबीच भएपछि माओवादीले उनको नाम समानुपातिकको सूचीमा राखेको थियो । उनी निकट एक नेताका अनुसार पछि समानुपातिकको सूची संशोधन गर्दै पार्टी नेतृत्वले उनलाई प्रदेशमा तयारी गर्न भनेको थियो ।
प्रतिनिधि सभाको क्षेत्र समाजवादीको भागमा परेपछि अध्यक्ष प्रचण्डले गत साता भएको भेटघाटमा आफूलाई प्रदेशमै दोहोरिनका लागि तयारी गर्न भनेको मुख्यमन्त्री भट्टले बताए । प्रदेशमा दोहोरिने आफ्नो चाहना नभए पनि पार्टी नेतृत्वको निर्देशनअनुसार आफू अगाडि बढेको बेला अन्तिम समयमा आएर गरिएको अनपेक्षित निर्णयले आफूलाई मर्माहत बनाएको उनले बताएका छन् । पार्टीको निर्णय शिरोधार्य गरेर काम गर्ने इमान्दार नेता, कार्यकर्ता विरुद्ध हुने यस्ता निर्णयले पार्टीलाईनै असर गर्ने उनले बताए । 
‘मैले लगातार पाँच वर्षसम्म मुख्यमन्त्री चलाइसकेकोले अब मेरो बारेमा पार्टीले निर्णय लेओस् भन्ने चाहेको थिएँ, सोही शिलशिलामा अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीको भेटमा अध्यक्षले संघमा हाम्रो भाग नपरेकाले प्रदेशमा लड्नोस् भन्नु भएको थियो ।’ मुख्यमन्त्री भट्टले भने, ‘अध्यक्षलेनै भनेपछि प्रदेशमा दोहोरिने मेरो प्रचार भएको हो । तर अहिले अन्तिम चरणमा आएर मेरो परामर्शविना जिल्लामा टीकट दिइएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
  रातारात निर्णय उल्ट्याइनु आपत्तिजनक भएको उनले बताएका छन् । चुनावका बेला पार्टीभित्रकै केही नेताले आफूलाई विवादित बनाएर विभिन्न सञ्चार माध्यममार्फत् आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै मुख्यमन्त्री भट्टले आपत्ति जनाएका छन् । ‘उम्मेदवारी नपाएकोमा असन्तुष्टि होइन । मैले कुनै पदका लागि पार्टीमा कहिले दावी गरेको पनि छैन ।’ उनले भने, तर पार्टी नेतृत्वको निर्देशनअनुसार अगाडि बढीसकेका बेला अन्तिम समयमा आएर ममाथि षड्यन्त्र गरिनु आपत्तिजनक छ ।’   
प्रदेशमा चुनाव लड्न चाहेको भए प्रदेशमै आफ्नो नाम सर्वसम्मत सिफारिस भएर आउने अवस्था रहेको उनले बताए । ‘मैले इमान्दारितापूर्वक राजनीति गर्छु । तर यो निर्णयले मेरो राजनीतिक चरित्र हत्या गर्ने र नेतृत्वको निर्णय क्षमतामाथि प्रश्नचिन्ह खडा गर्ने काम भएको हो ।’ मुख्यमन्त्री भट्टले भने, यसले पार्टी भित्र र बाहिर नकारात्मक सन्देश दिएको छ ।’ २०६४ र २०७० को निर्वाचनमा डोटीबाट प्रतिनिधि सभा सदस्यमा पराजित भट्ट २०७४ को निर्वाचनमा प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु