कैलालीको टीकापुर अस्पतालमा शववाहन सेवा निःशुल्क

  सोमबार ०७, कार्तिक २०७९ ११:४२

टीकापुर – कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ । शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिङ्क प्रालिले बेहोर्ने भएको छ । प्रालिले वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि अब शववाहन निःशुल्क उपयोग गर्न पाउने भएका हुन् । डेढ वर्षअघि ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शववाहन खरिद भएको थियो ।

टे«ड लिङ्कले शववाहन किन्दा पनि सहयोग गरेको र निःशुल्क होस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको छ । “सञ्चालनमा ल्याएको शववाहन प्रयोग गर्दा रकम लाग्न थालेपछि एक वर्षको लागि सहयोग गरेको हुँ”, तुल्सी ट्रेड लिङ्कका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पर्शुराम चपाईले भने, “यहाँ उपचारमा आउने धेरै विपन्न परिवार हुन्छन् । हुने खाने जटिल समस्या भए रेफर भएर अन्यन्त्र उपचारमा जान्छन्, आर्थिक अवस्था कमजोर भएका यही सेवा लिन्छन् । उनीहरु मर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था देखेर सघाउन खोजेको हो ।”

उनले एक वर्षका लागि सम्झौता गरेको र कार्यान्वयन राम्रो भएमा आउँदा वर्षमा पनि सहयोग रहने बताए । कोरोना महामारी फैलिएका बेला अस्पताललाई हस्तान्तरण भएको शववाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि अस्पतालले शुल्क लगाएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु