गठबन्धनप्रति मतदाताको उत्साह: धामी

छिनोफानो   शनिबार १९, कार्तिक २०७९ ०६:३८

धनगढी- धनगढी रहेर लामो समयदेखि राजनीतिमा सक्रिय नेकपा माओवादी केन्द्रका युवा नेता रमेशसिंह धामी सत्तारुढ गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र १ बाट उम्मेदवार छन् । निर्वाचन प्रसारप्रसारमा व्यस्त धामीसँग उनले अघि सारेका चुनावी एजेण्डालगायत विषयमा गरिएको कुराकानी !

तपाई अहिले निर्वाचनको प्रचार प्रसारमा होमिनु भएको छ । यति बेला आफ्नो प्रतिस्पर्धी कस्लाई मान्नु हुन्छ ?
म लामो समयदेखि राजनीतिक आन्दोलनमा सहभागी भएर यो क्षेत्रमा काम गरेको छु । मलाइ यस क्षेत्रका सबै मतदाताले चिन्नुहुन्छ । म हरेक मतदातको घरदैलोमा पुगेको छु । एउटा युवा पनि हो । मेरो प्रतिस्पर्धी नेकपा एमालेबाट टेस्टेड मान्छे उम्मेदवार हुनुहुन्छ । अघिल्लो निर्वाचनबाट निर्वाचित भएर पनि त्यतिबेला बोलेका धेरै कुराहरु पूरा गर्न नसकेका कारणले मतदाताहरुमा उहाँप्रति निराशा छ । यो क्षेत्रको साझा उम्मेदवारको रुपमा सबैले मलाइ बुझेका छन् । 


निर्वाचनको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?
गठबन्धनमा आवद्ध सबै पार्टी संरचनाहरु परिचालन गरेर चुनावको प्रचारप्रसार गरिरहेका छौँ । टोल तहसम्मै हामीले चुनावी प्रचार समिति गठन गरेर प्रचारलाई अगाडि बढाइरहेका छौँ । योसँगै मतदाता भेटघाट गर्ने, उनीहरुका कुरा सुन्ने गरिरहेका छौँ । गठबन्धनको दल नेपाली काँग्रेसको संयोजकत्वमा निर्वाचन क्षेत्र, वडा र टोलसम्मै निर्वाचन परिचालन समिति बनाएका छौँ । अहिले आमसभा, जुलुभन्दा पनि मतदाताको घरदैलोमै गएर भेटघाट गर्ने, आफ्ना एजेण्डाहरु बुझाउने, जनताका समस्याहरु बुझ्ने र मत माग्ने काममा व्यस्त छौँ ।

प्रचार प्रसारका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
सुरुमा मतदाताहरु त्यतिधेरै उत्साहित भएको पाएनौँ । तर हामीले छलफल चलाइसकेपछि उहाँहरुका कुरा सुनेर, उहाँहरुको कुराको जवाफ हामीले दिइसकेपछि मतदाताले गठबन्धनलाई भोट दिने मानसिकता बनाएर बसेको पाएका छौँ । सबै मतदाताको साझा धारणा निर्वाचित भइसकेपछि जनप्रतिनिधि फर्केर नआउने, सम्पर्कमा नहुने र निर्वाचनमा गरेका वाचाहरु पूरा नगरेको भन्ने छ । जनप्रतिनिधिहरु वाचा पूरा गर्छन् भनेर मतदाता अझै पनि त्यतिधेरै विश्वस्त छैनन् । हामीले गठबन्धनमार्फत् हामी निर्वाचनमा सहभागी भएका छौँ, तपाइहरुको मत खेर जान्न, यो गठबन्धनले विकास, समृद्धि गर्छ, तपाइहरुका टोलबस्तीमा विकास गर्छ भन्ने कुराहरु गरेपछि मतदाताहरु उत्साहित भएको पाएका छौँ । गठबन्धनप्रति नागरिकको आशा, भरोसा र विश्वास देखिएको छ ।

घरदैलो र अन्य चुनावी कार्यक्रमका सन्दर्भमा मतदाताबाट बाटोघाटो, पुल, तटबन्धनका कामहरु गरिदिनु पर्ने मागहरु आइरहेका छन् । नागरिकबाट रोजगारी, शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माणका कुराहरु उठ्ने गरेका छन् । खासगरी स्थानीय विकासका मुद्दा र स्थानीय समस्याहरुलाई नै मतदाताले चाँसो दिइरहेका छन् । 


तपाइका केहि एजेण्डना पनि होलान, जनतामाझ के एजेण्डा लिएर गइराख्नु भा छ ?
एउटा त हामीले गठबन्धनको आवश्यकता, औचित्य, यसरी गठबन्धन बनेको हो, यसको आवश्यकता यस्तो हो भनेर राष्ट्रिय राजनीतिकै कुरा राखिरहेका छौँ । दोस्रो, हामीले हाम्रो प्रतिवद्धता पत्रमार्फत् स्थानीय समस्याहरु जो हिजोदेखि थाँति रहेका छन्, पूरा गर्न सकिएका छैनन्, तिनै कुरालाई पूरा गर्ने प्रतिवद्धता गरिरहेका छौँ । मैले आफू निर्वाचित भइसकेपछि मेरो निर्वाचन क्षेत्रभित्र विकास निर्माणलगायत काममा भ्रष्टाचारको कुनै गन्ध आउन दिन्न भन्ने प्रतिवद्धता जनाएको छु । योजनाहरुमा कमिसन खाने, कामको गुणस्तर नहुनेजस्ता समस्याहरु देखिएका छन्, यस्तो प्रवृतिको अन्त्य गर्छु भनेर मैले मतदातालाई भनिरहेको छु र निर्वाचित भएपछि म यो गर्छु पनि ।

त्यसो भए तपाइले चुनाव जित्ने आधार यिनै हुन अथवा अन्य पनि छन ?
मुख्य आधार हाम्रो गठबन्धन हो । मेरो निर्वाचन क्षेत्रमा गठबन्धनका सबै दलहरु सक्रियता र एकतापूर्वक निर्वाचन प्रचारमा होमिएका छन् । दोस्रो, हामीले उठाएका एजेण्डा हुन् । तेस्रो, मैले म निर्वाचित भएपछि मेरो निर्वाचन क्षेत्रलाई भ्रष्टाचारमुक्त गर्नका लागि पहल गर्छ भनेको छु । सामाजिक, आर्थिक, भौतिकलगायत राज्यको लगानी भएका सबै काममा म आफ्नो क्षेत्रमा भ्रष्टाचार हुन दिने छैन प्रमुख कुराहरु यिनै हुन । देशको स्थायीत्व र विकासका लागि गठबन्धनको राष्ट्रिय आवश्यकता, यो क्षेत्रको विकासका लागि मैले अघि सारेका मुद्दाहरु मेरो चुनाव जित्ने आधार हुन् ।

तपाइको निर्वाचन क्षेत्रमा माओवादीबाटै बागी उम्मेदवारी पनि परेको छ । यसले तपाइलाई कत्तिको असर गर्छ ?
टीकटका लागि पार्टीमा, संगठनमा इच्छा राख्नु, चाँसो राख्नु स्वाभाविक हो । तर पार्टीले निर्णय गरिसकेपछि निर्णयअनुसारनै सबैले अगाडि बढ्नु पर्छ । सुरुमा केही असन्तुष्टि देखिएको हो । अहिले सबै साथीहरु  पार्टी काममा फर्किसक्नु भएको छ । उहाँहरु पार्टीको प्रचारमा हुनुहुन्छ । त्यसैले हाम्रो पार्टीमा अब असन्तुष्टि छैन । स्वतन्त्र रुपमा उम्मेदवार दिएका एक जना व्यक्ति भने अहिलेसम्म फर्कनु भएको छैन । अन्तसम्म उहाँले पनि पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुहुन्छ । अरु सबै साथीहरु पार्टीको काममा लागिसक्नु भएको छ ।   

तपाइको निर्वाचन क्षेत्रमा अरु पार्टीभन्दा तुलनात्मक रुपमा काँग्रेस बलियो देखिन्छ । चुनावी प्रचारप्रसारका क्रममा काँग्रेसबाट कत्तिको सहयोग पाइरहनु भएको छ ?
सत्तारुढ गठबन्धनको केन्द्रको सहमतिअनुसार क्षेत्र नम्बर ५ मा संघ र प्रदेश सभा २ मा काँग्रेस तथा १ मा माओवादीबाट म उम्मेदवार छु । गठबन्धनका सबै दलले एकअर्काेलाई सहयोग गरिरहेकै छौँ । गठबन्धनको संयोजकका हिसाबले काँग्रेसको नेतृत्वमा यहाँ निर्वाचन क्षेत्र, वडा र टोलसम्म चुनाव परिचालन समिति बनाएका छौँ । निर्वाचन जित्ने र जिताउनेमा प्रमुख हात गठबन्धन दल काँग्रेसकै छ, त्यसमा हाम्रो भूमिका सहायक हुन्छ । हामी एकअर्काको परिपुरक भएर अगाडी बढीरहेका छौं । मेरो निर्वाचन क्षेत्रमा समाजवादीको पनि राम्रो उपस्थिति रहेको छ । गठबन्धनका हामी सबै पार्टी एक छौं । हाम्रो एकताबाट चुवान जित्छौ भन्ने विश्वास छ । साझा उम्मेदवार भएका कारणले पनि सबै दलले मलाई सहयोग गरिरहनु भएको छ ।

अन्तमा यस क्षेत्रका मतदातालाई तपाइको भनाइ के छ ?
यस क्षेत्रका विकास निर्माणका कामहरु गठबन्धनले मात्रैै गर्न सक्ने भएकाले हामी एक ठाउँमा आएका हौं । निर्वाचित भएपछि म तपाइहरुको माझमा आउनेछु । तपाइहरुले जुन कामलाई अगाडी बढाउन भन्नुहुन्छ त्यही कामलाई प्राथमिकतामा राखेर जाने छु । सम्पूर्ण मतदाताले गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउन अनुरोध गर्दछु । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु