राजनीतिक प्रभावमा परेर प्रहरीले जाहेरीसमेत लिन नमानेको पीडितको गुनासो

छिनोफानो   शनिबार २६, कार्तिक २०७९ ०८:०१

धनगढी–  राजनीतिक प्रभावमा परेर हत्यासम्बन्धी घटनामा प्रहरीले ढाकछोप गर्न खोजेको आरोप लागेको छ । धनगढी उपमहानगरपालिका–४, चटकपुरका महादेव ओझाले आफ्नो छोराको हत्या भए पनि प्रहरीले दुर्घटना बनाएर हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको पीडित परिवारले शनिवार धनगढीम पत्रकार सम्मेलन गरी गुनासो गरेका छन् ।

उनका छोरा ३१ वर्षीय दुर्गा ओझाको गत २७ असोजमा दुर्घटनाका कारण मृत्यु भएको भनिएको थियो । दुर्घटना नभइ योजनावद्ध रुपमा हत्या गरिएको भए पनि जिल्ला प्रहरी कार्यालयले कतैको दवाव र प्रभावमा परेर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको पीडित परिवारले आरोप लगाएको छ । दुर्घटना भएको स्थल, चोटपटकको अवस्था र घटनाको प्रकृति हेर्दा दुर्घटना नभइ आफ्नो छोराको हत्या भएको देखिएको महादेवले बताए ।

‘घटनास्थलमा दुर्घटना भएको कुनै संकेत थिएन । मोटरसाइकलमा कुनै क्षति पुगेको छैन । घाइते अवस्थामा भेट्नेले टाउकोमा हेल्मेट थियो भनेका छन् । तर पोष्टमार्टम रिपोर्टले टाउको रगत जमेर मृत्यु भएको भनेको छ ।’ उनले भने, ‘यी सबै तथ्यहरु हेर्दा दुर्घटना नभइ हत्या भएको देखिन्छ तर प्रहरीले दुर्घटना बनाएर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको छ ।’ राजनीतिक प्रभावले प्रहरीले घटनाको अनुसन्धानमा चाँसो नदिएको उनको गुनासो छ ।

असोज २७ गते राति करिब एक बजेतिर धनगढी–१३, राजपुरबाट कैलाली गाउँमा आफ्ना एक जना साथीलाई पुर्याएर फर्कने क्रममा ओझाको दुर्घटना भएको प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार त्यस दिन दुर्गासहित अन्य तीन जना साथी राजपुरको एक होटेलमा कोठा लिएर राति बसेका थिए । तीमध्ये एक कालीप्रसाद भट्टले राति एक बजेतिर घर जान खोजेपछि दुर्गा मोटरसाइकलमा उनलाई पुर्याउन गएका थिए । निकै बेरसम्म दुर्गा नफर्केपछि होटेलमा रहेका दुई जना खोज्न जाँदा उनलाई गम्भीर घाइते अवस्थामा बाटोमा फेला पारेका उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

रातिनै उपचारका लागि मायामेट्रो अस्पताल पु¥याएको केहीबेरमै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सँगै बसेका साथीले दुर्घटनामा गम्भीर घाइते भएको अवस्थामा भेटेको भने पनि परिवारलाई मृत्यु भएपछि मात्र खबर गर्नुले पनि घटना संकास्पद रहेको देखिने महादेवले दावी गरे । ‘तथ्यप्रमाणले दुर्घटना होइन भन्ने देखिन्छ । घटनाको सत्यतथ्य अनुसन्धान गरिदिन प्रहरीलाई बारम्बार आग्रह गर्दा पनि हाम्रो कुरा सुनुवाइ भएन ।’ उनले भने, ‘प्रहरीले उल्टै अभियुक्तलाई जोगाउने गरी काम गरेको हामीलाई महसुस भएको छ ।’ 

घटना हत्या गरेर फालेको देखिएको उनले बताए । घटनाको किटानी जाहेरी लिनसमेत नमान्नुले प्रहरी कसैको दवावमा रहेर संलग्नलाई उन्मुक्ति दिन लागिपरेको पुष्टि हुने आफन्तको दावी छ । संगै बसेका तीन जनाको नाममा किटानी जाहेरी दिन खोज्दा प्रमाण नपुगेको भन्दै प्रहरीले लिन नमानेको ओझाले गुनासो गरे । घटनाको दिन दुर्गासँगै बसेका धनगढी–१३, का कालीप्रसाद भट्ट, गेहेन्द्रप्रसाद भट्ट र निरज भट्टका नाममा किटानी जाहेर दिन खोजेको ओझाले बताए । आफन्तका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीले किटानी जाहेरी लिन नमानेपछि जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत् उजुरी दर्ता गर्न खोजेका थिए । 

सरकारी वकिलको निर्देशनपछि पनि जाहेरी दर्ता भएन
जिल्ला सरकारी वकिलको कार्यालयले लिखित निर्देशन दिँदासमेत प्रहरीले पीडित पक्षले दिएको किटानी जाहेरी दर्ता गरेको छैन । सरकारी वकिलको कार्यालयले गत कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै किटानी जाहेरी दर्ता गराउन निर्देशन दिएको थियो । तर सरकारी वकिलको कार्यालयले निर्देशन दिँदासमेत प्रहरीले जाहेरी दर्ता नगरेको पाइएको सहायक न्यायाधिवक्ता श्रीराम ओझाले बताए । 

‘पीडितको जाहेरी दरखास्त हेर्दा अनुसन्धान गर्नुपर्ने देखिएकोले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न भनेर न्यायाधिवक्ताले जिल्ला प्रहरीलाई जाहेरीसहित पत्र पठाउनु भएको थियो तर बिहीबार फाइल मगाएर हेर्दा किटानी जाहेरीनै दर्ता नभएको पाइयो ।’ ओझाले भने, ‘सरकारी वकिलको कार्यालयबाट निर्देशनअनुसारको पत्र गएपछि प्रहरीले अनिवार्य रुपमा जाहेरी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म जाहेरी दर्ता नगर्नु गम्भीर विषय हो ।’ मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५ मा सरकारी वकिलको कार्यालयको निर्देशनपछि अनिवार्यरुपमा किटानी जाहेरी दर्ता गर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक सोमेन्द्र सिंह राठौरले भने आवश्यक प्रमाणहरु नभेटिएपछि किटानी जाहेरी दर्ता नगरिएको बताएका छन् । यस घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको राठौरले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु