योग तथा संस्कारले ल्याएको परिवर्तन

रासस   सोमबार २८, कार्तिक २०७९ १२:४३

भजनी – कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत छन । निर्धारित समयमा विद्यालय पुग्ने र छुट्टी भएपछि घर फर्कने उनको दैनिकी थियो । केही दिनमै उनको त्यो दैनिकीमा परिवर्तन आएको छ । उनी घरपरिवार, विद्यालय र समाजको बारेमा सम्म सोच्न थालेका छन । सैद्धान्तिक ज्ञानले मात्रै सबै कुराको सिकाइ हुने उनको मनस्थितिलाई योग तथा संस्कार शिविरले परिवर्तन गरिदिएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई आयोजित योग तथा संस्कार शिविरमा सहभागी भएका उनी भन्छन ‘पाठ्यक्रमको सिकाइभन्दा शिविरमा सिकेको ज्ञान निकै महत्वपूर्ण छ । जुन सिकाइले हाम्रो व्यवहारमा समेत परिवर्तन गरेको छ ।’ कक्षा १० मा अध्ययनत रेनुका विष्ट योगले शारीरिक र संस्कारले व्यवहारमा निकै परिवर्तन आएको बताउँछन । ‘हामी व्यक्तिलाई हेरर व्यवहार गर्छौं । विद्यालय बाहिर शिक्षकलाई भेट्दा लुक्छौँ । त्यो मेरो जीवनमा पनि लागू हुन्थ्यो’ उनले भने ‘चार दिनको सिकाइले धेरै परिवर्तन आएको महसुस मैले गरेकी छु । सबैसँग घुलमिल हुनसक्ने क्षमताको विकास भएको छ ।’

विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरस्वती घर्तीमगरमा अपरिचित व्यक्तिसँग बोल्ले बानी थिएन । कक्षा कोठामै आफ्नै साथीहरूसँग बोल्न नसक्ने सरस्वती चार दिने सिकाइले आफूलाई धेरै परिवर्तन महसुस गरेको बताउँछीन । ‘पाठ्यक्रमको अध्ययनले मात्रै सबै कुरामा सक्षम छु भन्नु गलत रहेछ । हाम्रा अभिभावक अझै पनि सैद्धान्तिक ज्ञानमा विश्वास गर्नुहुन्छ । सैद्धान्तिक ज्ञानले मात्रै नपुग्दो रहेछ’ सरस्वतीले भनीन् ‘त्यो कुरा अभिभावकलाई सम्झाउन सक्ने भएको छु । जुन कुरा मेरो लागि निकै महत्वपूर्ण छ ।’

नेहारिका चौधरी योग तथा संस्कार शिविरमा सहभागी नहुँदा निकै पछुतो भएको बताउछीन । आफैँसँग अध्ययन गरिरहेका साथीहरूले चार दिनमा सिकेको कुराले उनमा एक किसिमको आक्रोश पनि देखिन्थ्यो । ‘आफ्नै कारणले मैले शिविरमा सहभागी हुने अवसर गुमाए । आज साथीहरूले सिकेको कुराले मलाई ईष्र्या भएको छ’ उनले भनीन् ‘अब यस्ता अवसर म जीवनमा कहिल्यै गुमाउने छैन । शिविरमा सिकेका कुरा साथीहरूबाट सिक्ने प्रयास गर्ने छु ।’

विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल पनि योग तथा संस्कार शिविरबाट विद्यार्थीमा भएको सिकाइले खुसी छन । वर्ष दिनसम्म सिकाएको भन्दा चार दिन सिकेको कुरा विद्यार्थीका लागि महत्वपूर्ण भएको जनाउँदै उनले विद्यार्थीमा संस्कारको विकास मात्रै नभई जिम्मेवारीको बोधसमेत भएको बताए । ‘शिविरमा सहभागी भएका विद्यार्थीमा देखिएको उत्साहले हामीलाई पनि गर्व महसुस भएको छ’ उनले भने ‘शिविरमा सहभागी नभएका विद्यार्थीमा पनि सिक्ने उत्सुकताले विद्यालयमा योग तथा संस्कारसम्बन्धी कक्षा सञ्चालन गर्न आवश्यक देखिएको छ ।’
योग प्रशिक्षक रवीन्द्र बस्नेत बालबालिकाका लागि संस्कार निकै आवश्यक कुरा भइसकेको बताउछन । उनले बालबालिकामा योग शिक्षा र संस्कारको विकास गर्न नसके त्यसले ठूलोठूलो मूल्य चुकाउनुपर्ने बताए । ‘अहिले अभिभावकले आफ्ना बालबालिकालाई समय दिन सकेको अवस्था छैन । बालबालिकाको ध्यान अभिभावक र आफ्नो समाजभन्दा मोबाइलसँगै अहिलेको आधुनिकतामा बढी केन्द्रित भएको छ’ उनले भने ‘यस्ता कुराले बालबालिकालाई मानसिकरुपमा निकै असर पार्न सक्छ । संस्कार बालबालिकाका लागि निकै महत्वपूर्ण विषय बनिसकेको छ ।’

टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विद्यालयमा योग शिक्षा निकै आवश्यक रहेको बताए । उनले विद्यार्थीमा योग शिक्षाले विद्यार्थीको शारीरिक तथा तथा संस्कारले मानसिक विकास गर्नसक्ने बताउँदै त्यसका लागि स्थानीय सरकार गम्भीर रहेको बताए । ‘अभिभावकले बालबालिकालाई समय दिन नसकेकै कारण बालबालिका गलत क्रियाकलापमा फस्दै गएको तितो यथार्थ हाम्रो अगाडि छ’ उनले भने ‘समाजमा भइरहेका गलत क्रियाकलापलाई न्यूनीकरण गर्नका लागि पनि बालबालिकालाई संस्कार सिकाउन जरुरी छ । भविष्यप्रति जिम्मेवार बनाउन आवश्यक छ ।’ रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु