नेतालाई भोट प्यारो नागरिकलाई भोक प्यारो

दिर्घ शाही   बुधबार ३०, कार्तिक २०७९ ०५:५९

धनगढी– देशमा चुनावी माहोल छाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दलका शिर्ष नेताहरु देश दौडाहमा छन भने उम्मेदवरहरु गाउँ गाउँ र घरदैलो कार्यक्रममा व्यस्त छन । सबै उम्मेदवारहरु आश्वासनसहितका चुनावी एजेण्डा बोकेर प्रचार प्रसरलाई तिव्रता दिदै छन । सबैले आफु जित्ने दावी समेत गरिरहेका छन । 

सुदूरपश्चिमका अधिकांश नागरिकको रोजगारीको गन्तव्य भारत हो । दशै तिहार मनाउन घर आएका सुदूरपश्चिमेली अहिले भारत पसिरहेका छन । सुदूरपश्चिमको भारतसंग जोडिएकोे मुख्य नाका त्रिनगर भन्सार नाकाबाट दैनिक एक हजार देखी एक हजार पाँच सयको हारहारीमा भारत गइरहेका छन । दशै तिहर र सुदूरपश्चिमका पहाडी जिल्लामा हुने जात्रा हेर्नका लागि घर आएका सबै भारत फर्किन लागेका हुन ।

मतदान गर्न पाउँनु आफुलाई मन परेको उम्मेदवार चुन्न पाउनु सबै नेपालीको अधिकार हो । तर, चुनावको लागि रोकियो भने कसैको रोजगारी खोसिन्छ । घरमा लागेको ऋण्को व्याज बढ्दै जान्छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मालाखेतीका शंकर कामी एक महिनाको छुट्टीमा दशै तिहार मनाउन घर आएका थिए । उनि र उनकी श्रीमतीसंगै भारत जानलाई मंगलबार त्रिनगर नाकामा लाइनमा बसेका थिए । 

उनको घरमा २ छोरा, १ छोरी र आमा छीन । दशै तिहारको विदा सकियो छोरा छोरीको पनि स्कूल लाग्यो । आउदा ल्याएको अलिकति पैसा पनि सकियो । उनले भने ‘चुनावमा भोट हाल्नका लागि बसौ भने विदामा आएको उता सेटले मेरो ठाउँमा अर्काे काम गर्ने राख्छ । पछि मलाई काम खोज्न पनि गारो हुन्छ । घरमा पनि छोरा छोरीको स्कूल लागिहाल्यो । उनिहरुका लागि पनि खर्च चाहिन्छ । जमिन छैन । किनेर खानु पर्छ ।’

४८ वर्ष उमेर भएका कामीले अहिलेसम्म एक पटक मात्र मतदान गरेको बताए । सानै उमेरदेखि भारतमा रोजगारी गर्दै आएका कामीले २०७४ सालमा पहिलो पटक मतदान गरेको सुनाए । पहिलो चोटी अघिल्लो पल्ट भोट हालेको केही विकास भएन । अब पनि के भोट हाल्नु । उनै पुरानै नेता छन फेरी उठेका । उनिहरु जितेर आफ्नो व्यवस्था गर्छन हामी किन भोट हाल्ने ? उनले भने ।

डोटीको शिखर नगरपालिका ६ का नरेश बलायर पनि भारत जान आफ्नो नाम दर्ता गराउनका लागि लाइनमा थिए । ३५ वर्षीया बलायरले अहिलेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाएका छैनन । उनि तिहार मनाउन घर आएका थिए । उनले भने ‘मलाई सेटले ५ दिन पहिले नै फोन गरेको थियो । उता पनि काम छोडेर आएको हु । भोट हाल्ने मन त थियो तर, के गर्नु हामी गरिवले अरुको देशमा काम नगरि खान पुग्दैन । यो पटक भोट हालेर जाने सोच बनाएको थिए । उताबाट सेटले फोन गरेर सताउन लाग्यो त्यसैले जान लाको ।’ 

धेरै उम्मेदवाहरु पुरानै छन । केही आफ्नै पार्टीबाट बिद्रोह गरेर स्वतन्त्र उम्म्ेदवार बनेका छन । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच बामगठबन्धन भएको थियो । तर, यस पटक भने एमाले एक्लो चुनावी मैदानमा छ । नेपाली कांग्रेस नेपामा माओवादी केन्द्रसहित पाँच दलिय गठबन्धन र नेकपा एमाले विच अहिले मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेले पनि केही ठाउँमा गठबन्धन गरेको छ ।

नेताहरुले प्रत्यक निर्वाचनमा स्वदेशमै रोजगारीको व्यवस्था पर्ने चुनावी एजेण्डा बनाएपनि कार्यान्वयन हुन नसक्दा दैनिक हजारौको संख्यामा सुदूरपश्चिमेली भारत पसिरहेका छन । कैलालीको त्रिनगर भन्सार कार्यालयमा दैनिक एक हजार भन्दा बढी नेपाली भारत गइरहेका छन भने अन्य नाकाबाट पनि दैनिक सयौको संख्यामा भारत गइरहेका छन । कमजोर आर्थिक अबस्थाका कारण उनिहरु परिवार पाल्नका लागि भारत जान बाध्य छन । 

भोट माग्न गाउँ पसेका नेताहरुले भारत जान लागेका सुदूरपश्चिमेलीको पीडा र लर्काे देखेन । देशमै रोजगारी सिर्जना गर्ने दावी गरिरहेका उम्मेदवारसंग पनि कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने कुनै योजना छैन । चुनाव जित्नकै लागि उनिहरुले आश्वासन बाडी रहेका छन । भोट भन्दा भोक प्यारो भन्दै भारत पसिरहेका सुदूरपश्चिमेलीलाई स्वदेशमै रोजगार दिनसक्ने ठोस एजेण्डा र योजना कसैसंग छैन । दशै तिहारको बेला त भारत जानेको कमी भएन भने चुनावले के रोक्न सक्थ्यो र । एक अटो चालकले भने । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु