सुदूरपश्चिममा सरकारको अनुदानमा मोती उत्पादनको तयारी

छिनोफानो   सोमबार १८, असार २०८० ०२:२९

सुदूरपश्चिममा पहिलोपटक सरकारको अनुदानमा मोती उत्पादन सुरु गरिने भएको छ । डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम नगरपालिका-४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन सुरु हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ ।

मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरासँग सम्झौता गरेर पोखरी निर्माण गरेका छन् । प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना मोती अर्थात् (पर्ल) लाई मानिन्छ ।
मोती संसारमा एक मात्र यस्तो रत्न हो जुन जीवित प्राणीबाट उत्पादन हुन्छ । आफूहरूले उपभोग गरिरहेको सिपी नै मोतीको मुख्य स्रोत भएको उनको भनाइ छ । सिपीको शल्यक्रिया गरी न्युक्लियस राखेपछि मोती उत्पादन हुने बताइन्छ।

एक किरामा नौ वटा दाना मोती झिक्न सकिन्छ। मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालक मालसँग २५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ। एउटा पोखरीमा एक हजार दुई सयदेखि एक हजार तीन सयसम्म सिपी पाल्न सकिने उनले बताए।

सुरुवातमा तीन हजार छ सय सिपी पाल्ने योजना रहेको छ। यसका लागि उनले भारतमा आवश्यक तालिम लिएको जानकारी दिए। सिपी भारतबाट ल्याई पोखरीमा प्रेस गराई एक सातामा न्युक्लियस प्रत्यारोपण गरेपछि मोती उत्पादन हुने मालले बताए।

यसको बजार पनि भारत नै भएको उनको भनाइ छ। गएको वर्ष मात्रै मोती जडित गरगहनाका लागि नेपालीबाट ४७ करोड रुपैयाँ खर्च भएको एक तथ्याङ्कले देखाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु