राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक २४ गते बस्ने

छिनोफानो   शुक्रबार २२, असार २०८० ०३:१०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।  राष्ट्रिय सभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरूले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद विमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए । 

सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्ति दिल्ली गएको भनी  अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाएकी हुन् ।  

उनले नेपालको प्रधानमन्त्री नेपाली जनताका प्रतिनिधि रहने सर्वोच्च थलो सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुलुकको स्वाधीनताविपरीत भएको टिप्पणी गरिन् । 

सांसद घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुन नसक्ने स्पष्ट पारिन् । अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्‍याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गरेका थिए । 

तर, एमालेका सांसदहरूले उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरेका हुन् । राष्ट्रिय सभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि यही असार २४ गते निर्धारण गरिएको जनाइएको छ । 

साथै छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीको जवाफका लागि असार २५ र २६ गतेको समय तोकिएको छ । राष्ट्रिय सभाको अर्को बैठक यही असार २४ गते बिहान ११ः३१ बजे बस्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु