साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्छ - प्रधानमन्त्री प्रचण्ड

छिनोफानो   सोमबार २५, असार २०८० १२:२४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् । 

सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताए । 

पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने उनले उल्लेख गरे । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ । 

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा रहेका बताए । “नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मात्र नभएर उहाँ नेपालको लोकतान्त्रिक आन्दोलनको उच्च व्यक्तित्व हुनुहुन्थ्यो”, उनले भने । 

पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्ता फाल्न नसकिने निष्कर्ष निकाल्नुभएको सुनाउँदै पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस र कम्युनिष्टले हातेमालो गरेपछि मात्रै निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको बताए ।  “पुष्पलाल दूरदर्शी नेता हुनुहुन्थ्यो”, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वका रुपमा रहनुभएको र उहाँका सपना पूरा गर्न लाग्नुपर्ने बताए । 

“निरङ्कुश राजतन्त्रको अन्त्य, नौलो जनवाद स्थापना, समाजवादको स्थापना र नेपाली समाजको इतिहासको गहन अध्ययन गर्ने पुष्पलालका चार सपनामध्ये केही पूरा भएका छन्”, उनले भने, “समाजवादोन्मुख संविधान जारी गरेर समाजवाद स्थापनाको थालनी भएको छ, नेपाली समाजको अध्ययन गर्ने उहाँको सपना बाँकी नै छ, यसलाई हामीले पूरा गर्नुपर्छ ।” 

पुष्पलालको सपनाका रुपमा रहेको नेपाललाई समाजवादमा पुर्‍याउने कार्यभार पूरा गर्न वर्तमान सरकारले काम थालनी गरेको मन्त्री किरातीको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले नेपालको राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान दिनुभएका पुष्पलालको सम्मानमा पुरस्कारको व्यवस्था गरिएको बताए । 

मन्त्रालयका सचिव सुरेश अधिकारीले राष्ट्रको विकास, समृद्धि र सम्वद्र्धनमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई सरकारले सम्मान गर्दै आएको बताए । सम्मानित व्यक्तित्व कमलप्रसाद कोइरालाले सानो उमेरदेखि नै पुष्पलालसँग राजनीतिक सम्बन्ध रहेको स्मरण गरे । 

सरकारले नेपालको इतिहास, प्रगतिशील साहित्य सिर्जना र सांस्कृति पक्ष तथा राजनीतिशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र विषयमा खोज, अनुसन्धान र लेखनमार्फत नेपाली समाजको परिवर्तनका निम्ति गरिएका योगदानको सम्मानस्वरुप प्रत्येक वर्ष तीन जनालाई पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु