कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले गौरवका योजना निर्माणमा प्राथमिकता दिदै

छिनोफानो   सोमबार २५, असार २०८० ०३:४१

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बहुवर्षे नगर गौरवका योजना निर्माणमा प्राथमिकता दिएको छ । नगरपालिकाले नगर चक्रपथ, खानेपानी योजना लक्ष्मीपुर, नगर स्तरीय कभर्ड हल निर्माणलगायतका योजनाको काम सुरु गरेको हो । बहुवर्षे योजनालाई प्राथमिकताका साथ अगाडी बढाइएको नगरपालिकाका ईन्जिनियर दिपक धामीले बताए ।

 

उनका अनुसार नगरपालिकै लगानीमा नगर चक्रपथ निर्माणको काम भइरहेको छ । नगर चक्रपथ अन्र्तगत वडा नं. १२, १, २ र ३ सम्म २.६७ किलोमिटर सडक स्तरोउन्नतीको काम भइरहेको छ। चक्रपथ सडकको चौडाई ९ मिटर हुनेछ । योसँगै नगरपालिकाले सबै वडाका प्रमुख सडकमा पानीपिच गर्ने काम भइरहेको छ । २.६७ किलोमिटर चक्रपथ स्तरउन्नती र प्रत्येक वडाका एउटा मुख्य सडक (७.६७ किलोमिटर)  पानीपिच गर्ने जिम्मा एडभान्चर राजधानी नागार्जुन जेभी धनगढीले पाएको छ । १ करोड ४४ लाख ७ हजार ५ सय ६१ रुपैयाँमा लगानीमा सबै वडाका एउटा मुख्य सडक पानीपिच र चक्रपथ (वडा नं. १२, १, २ र ३) निर्माण २०८० मंसिर ३० गतेभित्र सक्ने गरि सम्झौता भएको छ ।

चक्रपथ निर्माणका लागि नगरपालिकाले अगामी आर्थिक वर्षको बजेटमा १ करोड ४० लाख विनियोजन गरेको छ । शुक्लाफाँटामा १२ वडा छन्। नगर चक्रपथ सबै वडासँग जोडिनेछ । यसैगरी, शुक्लाफाँटामा नगर स्तरीय कभर्ड हलको काम पनि अगाडी बढेको छ । नगरपालिकाको वडा नं. १० स्थित खुल्ला मञ्चको दक्षिण खेलमैदानमा ५१०.६८ बर्गमिटर क्षेत्रफलमा नगर स्तरीय कभर्ड निर्माण हुन लागेको हो । कभर्ड हलाको लम्बाई २८.४५ मिटर र चौडाई १७.९५ मिटर हुनेछ । कभर्ड हल निर्माणको जिम्मा एसएनएस जयलक्ष्मी जेभी नेपालगञ्ज, बाँकेले पाएको छ । 

 

२ करोड ६६ लाख ४९ हजार ५ सय ५४ रुपैयाँको लागनीमा निर्माण हुने कभर्ड हलको काम २०८१ असार २० गतेभित्र सक्ने गरि निर्माण कम्पनी र नगरपालिकाबीच सम्झौता भएको छ। नगरपालिकाले कभर्ड हल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा ९० लाख विनियोजन गरेको छ । त्यस्तै, नगर गौरबको योजना अन्तर्गत वडा नम्बर २ मा खानेपानी योजना निर्माण भइरहेको छ। निर्माणाधीन खानेपानी योजनाले वडा नं. २ र ३ का बासिन्दाको पहुँचमा खानेपानी पुग्नेछ । खानेपानीको ओभरहेड ट्यांकी २ सय २५ घनमिटर बनाइनेछ । निर्माणको जिम्मा उच्चाकोटि ड्रिलिङ एंड कन्स्ट्रकसन् कम्पनि धनगढीले पाएको छ ।

 

६ करोड ८० हजार ४ सय १४ रुपैयाँ लगानीमा निर्माण भइरहेको खानेपानी योजनाको काम २०८१ असार १८ गतेभित्र सक्नुपर्नेछ। नगरपालिकाले आगामी आर्थिक वर्षमा नगर स्तरीय बसपार्क, कोल्ड स्टोर निर्माणको काम समेत सुरु गनेछ। नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि ४ लाख र बसपार्क निर्माणका लागि ४ लाख विनियोजन गरेको छ । शुक्लाफाँटा नगरपालिकाले दिर्घकालिन परियोनाहरु समेत तयार गरेको छ । दिर्घकालिन परियोजना अन्तर्गत नगरपालिकाभरि  डुबान क्षेत्रको पहिचान तथा बाढीको पानीे निकासका लागि बिस्तृत योजना, नगर यातायात गुरुयोजना र सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० बनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु