राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध हट्यो

छिनोफानो   मङ्गलबार २६, असार २०८० १२:१२

राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिलाई लिएर नेकपा एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन । यसबीचमा बसेका राष्ट्रिय सभाको प्रत्येक बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेका सांसदहरुले अवरोध गर्दै आएका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीका लागि स्पष्टीकरण दिने वातावरणका लागि आग्रह गर्दा समेत एमाले सांसदहरुले अवरोध गर्दै आएका थिए ।

तर, एमाले सांसदहरुले मंगलबारको राष्ट्रिय सभाको बैठकमा भने कुनै अवरोध गरेन ।‘प्रतिनिधि सभामा प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि राष्ट्रिय सभाको बैठक स्वतः खुल्यो’ राष्ट्रिय सभा सचिवालयका एक अधिकारी बताउँछन् । राष्ट्रिय सभा सचिवालयका अनुसार मंगलबार राष्ट्रिय सभाको बैठकमा कुनै अवरोध नहुने एमाले सांसदहरुले जानकारी गराएका थिए ।

राष्ट्रिय सभामा विगत ६ दिनसम्म एमालेले गरेको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ । प्रतिनिधिसभाबाट पारित भएर गएको १५ दिनभित्र विनियोजन विधेयक र बजेट आश्रति विधेयक पास गर्नुपर्ने कानुनी व्यवस्था छ । यस व्यवस्था अनुसार २९ असारसम्म राष्ट्रिय सभाले बजेट केन्द्रित छलफल सकाएर प्रतिनिधि सभामा पठाइसक्नुपर्छ । ६ दिनसम्म राष्ट्रिय सभामा भएको अवरोधका कारण बजेट माथिको छलफल प्रभावित भएकाले मंगलबार एकै दिन १६ वटा मन्त्रालयको बजेटमाथि छलफल राखिएको छ ।

मन्त्रालयगत रुपमा छलफल सकिएपछि प्रत्येक मन्त्रीले जवाफ दिने र बजेट पारित हुनेछ । बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले संसदमा अवरोध भएका कारण कार्यसूची प्रभावित हुन पुगेको बताए ।‘कार्यसूचीहरु समयमै सकिन्थ्यो होला । विशेष परिस्थिति सिर्जना भयो । जसले गर्दा कार्यसूचीहरु जो निर्धारण गरिएको थियो । २० गते सदन चल्न सकेन । यसले गर्दा समयको निकै चाप छ’ सांसद श्रेष्ठले बजेटमाथिको छलफलमा भाग लिँदै भनेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु