सुदूरपश्चिम प्रदेश सरकरको बजेट बहुमतले पारित

छिनोफानो   आइतबार ३१, असार २०८० ११:४२

सुदूरपश्चिम प्रदेश सरकरको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट शनिवार राति १० बजे पारित भएको हो । नेकपा एमालेको बहिष्कारका बिच प्रदेश सरकारले आगार्मी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको छ ।

शनिवार रातिको प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधनपछि पारित गरिएका छन् ।

नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिस्कार गरेको थियो । राप्रपाकी सांसद खेमादेवी विष्टले पनि पहिला  बहिस्कार गर्ने घोषणा गरेकि थिइन् । तर पछि उनी बैठकमा सहभागी भएकी थिइन् । राति अबेर बसेको बैठकमा सरकारले बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएपछि पारित गर्न सहमत भएको हो । 

बजेटको पक्षमा ३९ र विपक्षमा राप्रपाको एक मत परेको थियो। पक्षमा कांग्रेसका १८, माओवादीका १०, नागरिक उन्मक्तीका सात र एकीकृत समाजवादीका चार जनाले मतदान गरेका थिए । ५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएको, सभामुख, उपसभामुखले मतदानमा भाग लिएनन् भने एमालेका ९ जना र एक स्वतन्त्रले बैठक बहिस्कार गरेका थिए । बजेट पारित हुन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दथ्यो । 

शनिवार दिउँसो सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट ५ करोड रुपैयाँ पुर्‍याउने, प्रदेशसभा सदस्यको बजेटमा रकम विनियोजन गर्नेलगायतका सहमति भएको थियो। उक्त सहमतिपछि मात्र सत्तारुढ दलहरुका सांसद बजेट पारित गर्न तयार भएका हुन् ।

सुदूरपश्चिम सरकारले कुल २९ अर्ब २६ करोड २९ लाख ३२ हजार बजेट पारित गरेको हो। अर्थमन्त्री नरेशकुमार शाहीले आगामी वर्ष २०८०/०८१ को बजेट झण्डै एक महिना अघि प्रदेश सभामा प्रस्तुत गरेका थिए । विनियोजन बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २हजार अर्थात् ३२.७९ प्रतिशत विनियोजन गरिएको थियो। पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत विनियोजन गरिएको थियो । प्रदेश सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ३४ करोड ७५ लाख ७० हजार विनियोजन गरिएको छ। त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु