गठबन्धन अझै पाँच वर्ष टिक्छ : प्रचण्ड

छिनोफानो   मङ्गलबार ३०, असोज २०८० ०४:३४

धनगढी,  असोज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गठबन्धन अझै पाँच वर्षसम्म टिक्ने बताएका छन् । समाजवादी मोर्चा नेपालले सोमबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो गठबन्धन टुटाउन विभिन्न प्रयासहरु भइरहेको बताए । उनले यस्ता दुस्प्रयासहरुलाई समाजवादी मोर्चाले पर्दाफास गर्दै अगाडि बढेको र गठबन्धनमा समेत दृढ सहमति भई अगाडि बढिरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाले अव जिल्ला र स्थानीय तहस्तरमा समेत सन्देश सभा वा घोषणा सभा गर्ने बताए । उनले मोर्चाले सदन, सडक, जनतामाझबाट सरकारको भूमिकालाई सशक्त बनाउन काम गर्ने समेत बताएका छन् । उनले पछिल्लो समयमा केही व्यक्तिहरुबाट जनआन्दोलनको जगमा ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन गरिने सबै दुस्प्रयासलाई मोर्चाले चिर्दै अगाडि बढेको बताए । प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संस्थागत गर्न बनेको मोर्चा र गठबन्धनलाई भत्काउने प्रयास पटक पटक भइरहेको बताएका छन् । उनले लोकतान्त्रिक गठबन्धन पुरै पाँच वर्ष टिक्ने बताएका छन् । उनले आउने पाँच वर्षमा यो सरकारले देशको मुहार फेर्ने गरी काम गर्ने बताए । उनले सरकारले सुशासन कायम गर्न ठूला ठूला भ्रष्टाचारको फाइल खोली दोषीलाई कारबाहीको दायरामा ल्याइएको बताए । उनले अव छिट्टै अर्को ठूलो काण्डको फाइल खोल्ने तयारी गरिएको समेत बताए । यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाले सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्दै अगाडि बढ्ने बताएका छन् । उनले मोर्चामा सबै कम्युनिष्ट एकताबद्ध भएको देखेर केही पार्टीहरु सशंकित भएको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक संघीय गणतन्त्रको उपलब्धी गुम्ने खतरा हुन सक्ने बताएका छन् । उनले लोकतान्त्रिक संघीय गणतन्त्रका पक्षधर दलहरु एकता नभएमा र नागरिकलाई आवश्यक सेवा सुविधा दिनतिर केन्द्रित हुन नसकेमा त्यो खतरा आउन सक्ने बताएका छन् । उनले नागरिकलाई सेवा सविधा दिन दलहरु रुपान्तरण हुन आवश्यक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दले नयाँ परिस्थितिले गर्दा समाजवादी मोर्चा गठन भएको बताए । उनले देशमा रहेको सामन्तवाद अन्त्य नभएको बताउँदै सामन्तवाद विरुद्ध लडाई बाँकी रहेको बताए । उनले देशबाट राजा फालिए पनि त्यसको अवशेषको रुपमा सामन्तवाद कायम रहेको बताए । उनले मोर्चाले सामन्तवाद विरुद्ध सरकार, सदन र सडकबाट आन्दोलन गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सोमबार नै गौरीगंगा नगरपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन र घोडाघोडी बहुमुखी क्याम्पसको भवन सिलान्यास गरेका थिए । उनले नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्याक्ष महेश वडुवालको शोक सभामा समेत सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु