राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस, माओवादी र एसको दाबी

छिनोफानो   मङ्गलबार २६, मङि्सर २०८० १०:००

काठमाडौँ — राष्ट्रिय सभामा पदावधि सकिएर रिक्त हुने १९ सिट भागबन्डाका लागि गठबन्धन दलबीच छलफल सुरु भएको छ । गठबन्धन दलले १९ राष्ट्रिय सभा सदस्यको निर्वाचन नहुँदै अध्यक्षको दाबी अघि सारेका छन् । सत्तारूढ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरूले सोमबार यसबारे छलफलसमेत गरे । 
राष्ट्रिय सभाका २० सांसदको पदावधि फागुन २० मा सकिँदै छ । त्यसमामन्त्रिपरिषद्को सिफारिसमा एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र सांसद राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचिन स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रिय सभाबाट बाहिरिँदै छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि पदाधिवधि सकिने भएकाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीले उक्त पदमा दाबी गरेका छन् । हाल माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष छिन् । माओवादीले उपाध्यक्ष पद छाडेर अध्यक्ष लिन चाहेको माओवादी नेताको भनाइ छ । प्रतिनिधिसभाको सभामुख एमालेबाट चयन भएकाले राष्ट्रिय सभा अध्यक्ष आफ्नो हुनुपर्ने तर्क माओवादीले अघि सारेको छ । सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीले सरकारको महत्त्वपूर्ण शक्ति भएकाले संवैधानिक पद राष्ट्रिय सभा पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले पनि गठबन्धन बैठकमा अनौपचारिक रूपमा राष्ट्रिय सभाको अध्यक्षको दाबी गरिसकेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अध्यक्ष कांग्रेसबाट हुने बलियो सम्भावना रहेको बताए । ‘गठबन्धनमा छलफल हुन बाँकी छ तर कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्ष हुने सम्भावना बलियो छ,’ उनले भने । कांग्रेस नेता विमलेन्द्र निधिले पनि अध्यक्षमा आफूहरूको दाबी स्वाभाविक रहेको बताए । कांग्रेसमा राष्ट्रिय सभा सदस्य हुन नेताहरू गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलाले लबिइङ सुरु गरिसकेका छन् । दुवैमा राष्ट्रिय सभा अध्यक्ष हुने चाहना छ ।

प्रधानमन्त्री दाहालनिकट माओवादी नेता एवं राष्ट्रिय सभा सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्षको दाबी आफ्नो पार्टीले गर्ने बताए । आलोपालो प्रधानमन्त्री हुने प्रसंग उल्लेख गर्दै उनले कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि माओवादीले लिने संवैधानिक प्रमुख पद राष्ट्रिय सभा हुने तर्क गरे । ‘त्यसकारण राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ,’ उनले भने । एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचनबारे गठबन्धनमा छलफल गर्ने निर्णय भएको बताए । ‘सत्ता गठबन्धनको एउटा महत्त्वपूर्ण दल भएकाले राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ,’ उनले भने, ‘यद्यपि यसबारे गठबन्धनमा छलफल हुन बाँकी छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु