नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

  शनिबार २३, असोज २०७८ ०९:५५

नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।

नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । नवदुर्गा मध्येकी तेस्री देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।

जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजाराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ । 

पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ ।  बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु