कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार सहयोग

छिनोफानो   शनिबार २३, असोज २०७८ ११:०४

 काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार प्रतिमृतक परिवार ५० हजारका दरले सहयोग प्रदान गरेको हो ।

नगर क्षेत्रका १८ जना मृतकका परिवारले यो रकम प्राप्त गरेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले जानकारी दिए । उनले कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाका परिवारलाई सहयोग रकम प्रदान गरिएको जानकारी दिए ।

मण्डनदेउपुरमा कोरोनाको पहिलो लहरमा चार र दोस्रो लहरमा २२ गरी २६ जनाको मृत्यु भएको थियो । जसमध्ये शुक्रबार १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरिएको हो । बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजातको आधारमा छिट्टै रकम वितरण गरिने मेयर टोकबहादुर वाइबाले जानकारी दिए ।

‘कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेका हौं’ मेयर वाइबाले भने, ‘आफन्त गुमाउँदाको पीढामा रहेका परिवारलाई सान्त्वनास्वरुप सहयोग गरेका हौं । हामी सधैं नगरबासीको साथमा छौं ।’

नगरपालिकाको नवौं नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम प्रदान गरिएको वाइबाले बताए । त्यसैगरी कोरोना संक्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि २५ हजारका दरले रकम सहयोग गर्ने तयारी नगरपालिकाले गरेको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु