सत्ता गठबन्धन बैठकमा प्रचण्डकाे ब्रिफिङ– ‘ओलीले एमालेलाई राष्ट्रिय सभामा 'जिराे' नबनाउनुस् भन्नुभएकाे छ’

छिनोफानो   बुधबार १८, पुष २०८० ०८:४५

काठमाण्डाै – सत्तारूढ गठबन्धनकाे बैठकले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएकाे छ । आज बुधवार बालुवाटारमा बसेकाे बैठकले राष्ट्रिय सभा चुनावकाे सिट बाँडफाँटमा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएकाे हाे ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई राष्ट्रिय सभामा 'जिरो' नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गर्नुभएको र यसबारेमा एमालेकाे प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयाे । उहाँले याे विषयमा सत्तारूढ दलहरूबीच कुनै सहमति नभएकाले भोलि बिहीवार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘राष्ट्रिय सभा चुनावका लागि २३ गते उम्मेदवारी दिने स्थिति छ । २० सिट खाली रहेकाेमा एमाले प्रतिनिधि रहेको नौ सिट छ । अरू पार्टीले प्राप्त गरेका सिटहरू त जे हो त्ये कायमै हो भन्दा पनि हुने भो । तर यो नौ सिटको बारेमा हामी कसरी जाने भन्नेबारेमा सल्लाह भयो । एमाले अध्यक्षले राष्ट्रिय सभामा आफूहरूलाई जिराे नगर्नुस् भनेर प्रधानमन्त्रीलाई भनेकाे कुरा आएकाे छ । एमालेको प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण र त्यसमा सरकारले गर्ने छलफलको एजेन्डाकाे बारेमा पनि 'बिफ्रिङ' गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू सहभागी थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु