सुदूरपश्चिममा माओवादी केन्द्रका बहुमत सांसदद्धारा संसदीय दलको नेता फेरबदल

छिनोफानो   शुक्रबार १२, माघ २०८० ०२:११

धनगढी, नेकपा माओवादी केन्द्रका बहुमत सांसदले सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गरेका छन् । संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा आज बसेको बैठकले दलका नेता खगराज भट्टलाई हटाउने निर्णय गरेको हो । भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको माओवादी प्रदेश सांसद शिवसिंह ओलीले जानकारी दिए ।

दलको नेता फर्ने निर्णयमा माओवादीका छ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सदस्य छन् । दलको नेता परिवर्तन गरिएको निर्णय सभामुखलाई समेत जानकारी गराइसकिएको सांसद ओलीले बताए । भट्टले दलको नेताका रुपमा संसदीय दल र पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेतृत्व फेरबदल गर्नुपरेको ओलीले बताए ।

दलको नेता चयन भएका धामीले बहुमत सदस्यले दलको नेता फेरबदलका लागि यस अघिनै केन्द्रलाई जानकारी गराएको बताए । ‘संसदीय दलको बहुमत सदस्यले मलाइ दलको नेताको जिम्मेवारी दिनुभएको छ’ उनले भने, ‘दलको नेताले भूमिका सक्रिय हुन सकेन, दलका गतिविधिमा दलका नेताले सकारात्मक भूमिका खेल्नसक्नु भएन । यसबारे केन्द्रीय नेतृत्वलाई पहिले पनि जानकारी गराएका थियौँ ।’
दलको नेता र मन्त्री फेरबदलको विषयमा बिहीबारसमेत पार्टी केन्द्रलाई लिखित जानकारी गराइएको धामीले बताए । ‘मन्त्री फेरबदलबारे दलको बैठकमा छलफल हुन्छ’ उनले भने । पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने र दलको नेता फेर्नुपर्ने माग गर्दै सभामुखसहित माओवादीका बहुमत सांसदले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई लिखित ध्यानाकर्षण गराएका थिए ।
    दलको नेता फर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरु शिवसिंह ओली, ओमबिक्रम भाट सरल, गीतादेवी माल र लक्ष्मी बिकले हस्ताक्षर गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु