१६ वर्ष पर्खिएको रुबिनाको यो शतक

छिनोफानो   बुधबार ०२, फागुन २०८० ०७:३४

काठमाडौं । अलराउन्डर रुविना क्षेत्री नेपाली महिला क्रिकेटको पाएको सर्वाधिक सफल खेलाडी र लिडर हुन् । सन् २०११ मा नेपाली महिला क्रिकेटको बागडोर सम्हाल्लेकी उनले ११ वर्षसम्म अनवरत कप्तानी गरिन् ।

पछिल्लो समय रुबिनासँगै सीता राना मगरले विदेशमा गएर समेत फ्रेन्चाइज लिग खेलिन् । तर नेपाली महिला क्रिकेटले अहिलेसम्म शतक पाएको थिएन ।

२००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थालेपछि सीता र रुविनामध्ये एक नेपालको पहिलो शतक हान्ने धेरैको अनुमान थियो । सीताले २०२१ मा कतारविरुद्ध ८२ रन बनाएकी थिइन् । तर शतक बनाउन सकिनन् ।

मंगलबार एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलिन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।

सुरुवाती दुई ओभरमा नेपालले २८ रन जोडेको थियो । शमान अलीको तेस्रो ओभरको दोस्रो बलमा कविता कुँवर १३ र तेस्रो बलमा कप्तान इन्दु बर्मा शून्यमा आउट भएपछि रुविना मैदान छिरेकी थिइन् । सीता १५ र डली भट्ट ६ रनमा आउट भएपछि नेपाल ६.२ ओभरमा ६१–४ को अवस्थामा पुगेको थियो ।

‘सीता र इन्दु आउट भइसकेको हुँदा जसरी पनि बस्नुपर्छ भन्ने थियो’, रुबिनाले भनिन्, ‘यो विकेट ब्याटिङ सहयोगी भएको थाहा भएकाले पनि आत्मविश्वास थियो ।’

रुविनाले १२ ओभर सकिँदा ३१ बलमा २ चौका प्रहार गर्दै ३७ रनमा खेलिरहेकी थिइन् । १३ औं ओभरको अन्तिम तीन बलमा माहा नासिरलाई दुई चौका र एक छक्का हानेपछि ३५ बलमा अधशतक पूरा गरिन् ।

बाँकी ५० रन भने १९ बलमा पूरा गरिन् । १६औं ओभरमा रुविनाले लत्शा हालिमाथालाई दुई चौका र एक छक्का हानिन् । १८ औं ओभरमा नाबा नसिमलाई तीन चौका र एक छक्काका साथ शतक पूरा गर्दै इतिहास लेखाइन् ।

नसिमको फुलटस बल लङअफमा खेल्दै चौकाका साथ ऐतिहासिक शतक प्रहार गरिन् । ‘म एकदमै इमोसनल (भावुक) भएँ । त्यो समय मसँग कुनै शब्द नै थिएन’ रुबिनाले मलेसियाको बाँगीमा बनाएको कीर्तिमानी शतक बनाउँदाको अनुभव साटिन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु