प्रधानमन्त्रीले थालेको सुशासन र विकासको अभियानमा सहयोग नभएपछि समीकरण फेरबदल : पोखरेल

छिनोफानो   सोमबार २१, फागुन २०८० ०८:३५

धनगढी, २१ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सत्ता सहयात्री दलबाट सहयोग पाउन नसकेपछि राजनीतिक समीकरण फेर्नु परेको बताएका छन् । माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका पोखरेलले आज धनगढीमा पत्रकारसँग कुरा गर्दै कार्यशैली कमजोर भएका मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन चाहे पनि सम्बन्धित दलले नमान्दा गठबन्धनमा समस्या देखिएको बताए । ‘

प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित अभियान सुरु गर्नुभएको छ तर कतिपय मन्त्रीले त्यसमा न्यूनतम भूमिका पनि निर्वाह गर्न सकेनन् । उनीहरुलाई हटाउनुपर्ने आवश्यकता थियो’ उनले भने, ‘प्रधानमन्त्रीले हटाउन खोज्नुभयो तर गठबन्धनको नाममा सम्बन्धित पार्टीहरुले हटाउनै चाहेनन् ।’

अर्थ मन्त्रालयको कार्यशैली पनि गठबन्धनमा समस्या आउनुको अर्को प्रमुख कारण रहेको उनले बताए । अर्थमन्त्रीले प्रधानमन्त्रीसँग लय मिलाएर हिँड्न नसकेको पोखरेलको भनाइ छ । ‘अर्थमन्त्रालयले प्रधानमन्त्री कार्यालयसँग लय मिलाएर हिँड्नुपर्ने हो तर हिँनेन । यसले सरकार सञ्चालनका हरेक कुरामा ठूलो समस्या प¥यो’ उनले भने, ‘प्रधानमन्त्री कार्यकारी भए पनि प्रधानमन्त्रीका कतिपय निर्देशन मन्त्रीहरुले मानेनन्, त्यसमा सम्बन्धित पार्टीहरुले पनि सहजीकरण गरिदिएनन् ।’ प्रधानमन्त्री एक्लैले मात्र परिणाम निकाल्न नसक्ने उनले बताए ।

काँग्रेस महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनमा माओवादी जनयुद्धलाई अपमान गरिनु पनि सत्ता गठबन्धन समस्या निम्त्याउनुको अर्को कारण बनेको पोखरेलको भनाइ छ । सत्ता सहयात्री दल भए पनि काँग्रेसले आफ्नो प्रतिवेदनमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको जनयुद्धलाई अपमान र विदु्रपीकरण गरेको उनले बताए । ‘जनयुद्धलाई अपमान गर्ने, त्यसका मूल्यमान्यतालाई विदु्रपीकरण गर्ने काम काँग्रेस महासमितिले ग¥यो ।

पश्चगामी शक्तिले चुनौति खडा गरेका बेला गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा संविधानको प्रावधानविरुद्धका विषयहरु त्यहाँ उठान भए’ उपमहासचिव पोखरेलले भने, ‘गठबन्धनमा चलिरहँदा अब गठबन्धन नगर्ने भनेर बेमौसमी बाजा बजायो । यी कारणले पनि गठबन्धनमा समस्या आयो ।’ माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष दिन काँग्रेसले अस्वीकार गर्दा पनि अविश्वास बढेको उनको भनाइ छ । पोखरेलले एकीकृत समाजवादी लगायत दललाई पनि सरकारमा ल्याउन छलफल चलिरहेको बताए ।

सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक यहाँ आएका उनले अर्को प्रसङ्गमा सुदूरपश्चिममा माओवादीभित्र देखिएको विवाद समाधान गरेर जाने बताए । उनले यहाँ पार्टीभित्रको समस्याबारे नेताकार्यकर्तासँग आफूले छलफल थालेको बताए । ‘पार्टीमा यहाँका समस्याबारे नेतृत्वसँग छलफल गर्नुपर्ने देखेको छु’ पोखरेलले भने, ‘सुदूरपश्चिममा पार्टीलाई एकतावद्ध र व्यवस्थित गर्ने पहल गर्छु ।’

प्रदेश इन्चार्ज र सहइन्चार्ज नियुक्तिको विषयमा माओवादी सुदूरपश्चिममा विवाद चर्किएको छ । संसदीय दलको नेताबाट हटाएको र आफूलाई जिम्मेवारीविहीन बनाएको भन्दै स्थायी समिति सदस्य खगराज भट्ट असन्तुष्ट छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु