परराष्ट्रमन्त्री ल्हासामा : सीमा क्षेत्रको समस्याबारे छलफल, नाका खोल्न चिनियाँ पक्ष सकारात्मक

छिनोफानो   शनिबार १७, चैत २०८० १२:०६

काठमाण्डौ – चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजो तिब्बतको राजधानी ल्हासा पुग्नुभएको छ । ल्हासामा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवम् सरकार प्रमुख वाङ झुङहेङसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा सीमावर्ती क्षेत्रका समस्याबारे छलफल भएको छ । उहाँले  नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । उहाँले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको उल्लेख गर्दै उहाँले त्यसका लागि तिब्बत सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । जवाफमा तिब्बत सचिव वाङ झुङहेङले सबै नाका खोल्ने निर्णय कार्यान्वयनमा लैजाने वचन दिनुभएको छ । नेपाल र तिब्बत जोडिएका तातोपानी, रसुवा र हिल्सा नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन भइसकेका छन् ।

यसअघि किमाथांका र ओलाङचुङगोला नाका द्विपक्षीय व्यापारिक प्रयोजनका लागि खोल्ने चिनियाँ प्रतिबद्धता रहे पनि पूर्वाधार अभावका कारण पूर्ण क्षमतामा यी नाका सञ्चालन हुन सकेका छैनन् । भेटमा सचिव वाङले नेपाललाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा पूर्वाधार विकास तथा ल्हासा–काठमाण्डौ बस सेवा पुनःसञ्चालन गर्न सकारात्मक रहेको बताउनुभयो ।

१४ वटा परम्परागत नाका क्रमशः खुल्दै जानेमा विश्वस्त हुन आग्रह गर्दै उहाँले मौसमी अवस्थालाई हेरेर उचित निर्णय लिइने विश्वास दिलाउनुभएको  छ । सीमा क्षेत्रका बासिन्दालाई निर्वाध आवातजावतको व्यवस्थाका लागि आफूहरू सकारात्मक रहेको उहाँको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु