माओवादीले बझाङमा प्रदेश सचिव बुढालाई उम्मेदवार बनाउने

छिनोफानो   सोमबार १९, चैत २०८० १२:१३

नेकपा माओवादी केन्द्रले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने भएको छ। धनगढीमा सम्पन्न माओवादीको प्रदेश सचिवालय बैठकले उम्मेदवारका लागि बुढाको एकल नाम सर्वसम्मत पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। 

माओवादीका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले उपनिर्वाचनको उम्मेदवारमा बुढाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए। ‘हामीले उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेका छौँ, पार्टी केन्द्रले औपचारिक घोषणा गर्छ,’ प्रदेश सचिवालयको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने।

बुढा २०७० को संविधानसभा सदस्य हुन्। २०५६ सालमा महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीमा आबद्ध भएका उनी २०५८ मा भूमिगत भएका थिए। उनी २०५८ देखि २०६० सालम्म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, २०६२ सालमा माओवादीको बाजुरा जिल्ला सचिव र २०६४ मा बैतडी जिल्ला सचिव भए। २०६४ देखि २०७० सालसम्म बुढा बझाङ जिल्ला अध्यक्ष तथा इन्चार्जको जिम्मेवारीमा थिए।

२०५८ सालमा उनकी श्रीमती तत्कालीन शाही नेपाली सेनाबाट मारिएकी थिइन् भने घरमा आगजनी गरिएको थियो। २०७८ सालदेखि पार्टीको प्रदेश सचिव रहेका बुढाले पार्टीले दिएको जिम्मेवारीअनुसार आफू चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु