बझाङमा एक महिलासहित १२ उम्मेदवार उपनिर्वाचनको मैदानमा

छिनोफानो   आइतबार २५, चैत २०८० १०:३९

धनगढीः आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभाका लागि कुल १२ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार शनिबार उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो। बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो। बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ। जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन्। 

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि आज (आइतबार) उम्मेदवारको विरोधमा उजुरी दिने, सोमबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने तथा मंगलबार उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम तय भएको आयोगले जनाएको छ।

बझाङ निर्वाचन क्षेत्र १ को ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको बताए।

नेपाली कांग्रेसले बझाङका पूर्वजिल्ला सभापति समेत रहेका उनै सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपा एमालेबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। उनी एमालेका जिल्ला अध्यक्ष पनि हुन्। नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन्। बुढा माओवादीका प्रदेश कमिटी सचिव हुन्।

नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। उनी तत्कालीन समयमा एमालेका पूर्वअध्यक्ष पनि हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत लामिछिानेका अनुसार राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेमकिपाबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, जसपा नेपालबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनमत पार्टीबाट सुशीलादेवी विष्ट र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारी दर्ता गराएका छन्। आयोगले बझाङमा प्रदेश सभा निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु