योजना कार्यान्वयनमा बजेट अभाव

छिनोफानो   शुक्रबार ३०, चैत २०८० ११:०९

टीकापुर नगरपालिकाले अल्पकालीन योजना तय गरेको समयावधि सकिएर समीक्षा गर्ने बेलासम्म पनि दीर्घकालीन तथा अल्पकालीन योजना पूरा गर्न सकेको छैन । २०७७ सालमै बृहत् योजना बनाएको यस पालिकालाई बजेट र जनशक्तिको अभावमा योजना पूरा गर्न समस्या देखिएको हो ।

बृहत् योजनाहरू दुई वर्षभित्र कार्यान्वयन गर्नुपर्ने भएकाले गर्न सकिनेलाई अल्पकालीन, सात वर्षसम्म गर्न सकिनेलाई मध्यकालीन र २० वर्षकालाई दीर्घकालीन योजनाका रूपमा छनोट गरिएको थियो । यसमा पूर्वाधार विकास, सामाजिक विकास, विपत् व्यवस्थापनका क्षेत्रमा क्रमिक रूपमा प्रगति देखिए पनि आर्थिक विकासमा भने प्रगति तथा उपलब्धि कमजोर देखिएको छ । अल्पकालीन भनेर तोकिएका योजनाको अवधि सकिएकाले बृहत् योजनालाई कतिपय अल्पकालीन अवधिका योजना पूरा नभएको पाइएको हो । 

‘सङ्घीयता कार्यान्वयनसँगै पालिकाको स्रोत र जनशक्ति बढ्छ भन्ने अनुमान गरी बनाइएका बृहत् योजना कोभिड महामारीका कारण थप समस्यामा परेको देखिन्छ । कोरोना महामारीले आन्तरिक आय र अनुदान दुवै घट्यो,’ बृहत् योजना बनाउन प्राविधिक सहयोग गर्नुभएका विज्ञ अनिरुद्र न्यौपाने पालिकाले प्रशासन मात्रै चलाएको बताउनुहुन्छ । 

पालिकाले आर्थिक विकास योजना कार्यान्वयन गर्न आवश्यक जनशक्ति राख्न सकेन, २०७४ सालदेखि निरन्तर वडाध्यक्ष रहनुभएका टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भन्नुभयो, “बृहत् योजना आवश्यक भए पनि जनशक्ति र स्रोतसाधनको अभावमा पूरा गर्न कठिन भएको छ ।”

सम्बद्ध अधिकारीहरू स्थानीय विकासका लागि स्थानीयस्तर अर्थतन्त्र विकास गर्नुपर्ने बताउँछन् । नगरको आवधिक योजनाले बाटो देखाएको छ, त्यस अनुसार काम पनि भइरहेको छ तर पनि स्थानीय सरकार र जनताको आय बढाउने क्षेत्रमा लगानी नपुगेको डा. गोपीकृष्ण खनालले बताउनुभयो । 

आर्थिक स्रोतका विज्ञ तथा नेपाल सरकारका  पूर्वसचिवसमेत रहनुभएका खनाल भन्नुहुन्छ, “सहरी क्षेत्रसँगै उर्वर भूमि, कर्णाली नदीको सिँचाइ र पर्यटनको सम्भावना भएको सहर भएकाले यस क्षेत्रमा लगानी बढाउनु पर्छ ।” त्यस्तै सुदूरपश्चिम विश्वविद्यालय ग्रामीण विकास विषयका उपप्राध्यापक मीनबहादुर शाही स्थानीय सरकारलाई निर्माण र सेवा विस्तारको दबाब बढी भएकाले त्यसमा प्रगति देखिए पनि आर्थिक विकास र सुशासनमा पनि त्यत्तिकै ख्याल गर्नुपर्ने बताउनुहुन्छ ।   

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु