साँफेबगर नगरपालिकाले कागजी उपभोक्ता समिति बनाउँदै ५० लाख भुक्तानी अर्कैलाई गरेपछि........

छिनोफानो   सोमबार २८, जेठ २०८१ ०१:०९

पवन भण्डारी,धनगढी । अछामको साँफेबगर नगरपालिकाले वडा नम्बर १२ खप्तडमा बिधुत बिस्तारका लागि भन्दै ५० लाख भुक्तानी गरेको २ बर्ष सम्म पनि बिधुत बिस्तारको काम सम्पन्न हुन सकेको छैन । 

साँफेबगर नगरपालिकाले आर्थिक बर्ष २०७९ मा बिधुत बिस्तारका लागी उपभोक्ता समिति मार्फत रकम भुक्तानी गरेको हो । तर साँफेबगर नगरपालिकाले कागजी रूपमा मात्र उपभोक्ता समिति गठन गरेर रकम भुक्तानी गरेको खुलेको छ । 

२०७९ साँल असार मसान्तमा नगरपालिकाबाट रकम फ्रिज जाने भएपछि नगरपालिकाले टेन्डर प्रक्रिया नै नगरी उपभोक्ता समितिलाई देखाएर रकम भुक्तानी गरेको खुलेको हो ।

तेज बहादुर रावललाई उपभोक्ता समितिको अध्यक्ष राख्दै नगरपालिकाले सो योजनाको सामान खरिद आफ्नै नजिकको एन्जीला फार्मलाई दिएको थियो । तर एन्जीलाले ५० लाख भुक्तानी लिएर पनि समय मै सामान खरिद नगर्दा बिद्युत् बिस्तारमा केही ढिलाइ भएको साँफेबगर नगरपालिका १२ का वडा अध्यक्ष जनक कडायतले बताए । 

उनले भने हाम्रो वडा साँफेबगर नगरपालिका कै बिकट वडा हो आर्थिक बर्ष २०७९ साँलको असार मसान्तमा बजेट फ्रिज जाने भएपछि हाम्रो वडामा बिद्युत् बिस्तारका लागी नगरपालिकाले ५० लाख रकम छुटाएको थियो । 

समय छोटो भएका कारण टेन्डर नगरी उपभोक्ता समिति मार्फत बजेट निकासा गर्ने योजना अनुसार उपभोक्ता समिति गठन गरिएको बताउँदै उनले भने तर पछि सो योजनाको सामान खरिद गर्ने काम सबै एन्जीला लाई नै दिएको हो उपभोक्ता समिति कागजमा मात्र बनेको हो समितिले कुनै काम गरेको छैन अध्यक्ष कडायतले भने । 

एन्जिलाले सुरुमा सामान खरिद गर्दा पोलहरू बाहेक थोरै सामान मात्र खरिद गरेकोले मैले सामान पुरा नहुदा सम्म नलिने बताए पछि बल्ल पछि अरू सामानहरू खरिद गरेको अध्यक्ष कडायतले बताए । उपभोक्ता समितिका अध्यक्ष सचिव यहाँ कोही छैनन् सबै इन्डिया गएका छन काम सुरु छ असार १५ सम्म बत्ती बाल्ने योजना रहेको छ । 

साँफेबगर नगरपालिकाले वडा नम्बर १२  का एक जना स्थानीय भन्छन् “अहिले बल्ल बल्ल काम सुरु भएको छ । कतै पोल गाड्ने काम हुदैछ भने कतै तार तान्ने काम भइरहेको छ अब कहिले बत्ती बल्छ थाहा छैन । 

उपभोक्ता समिति सचिव नवराज कडायत भन्छन्“असारमा बजेट फ्रिज जाने भयो भनेर हतार हतार हामी लाई उपभोक्ता समितिमा बस्न भनियो हामी पनि आफ्नो गाँउठाँउको विकास हुन्छ भने किन नगर्नु भन्ने मनसायका साथ उपभोक्ता समितिमा बसेको बताए ।

हामीले आफै काम गर्न पाउँछु भन्ने लागेको थियो तर उपभोक्ता समिति देखावटी मात्र रैछ पछि काम गर्ने सबै जिम्मा एन्जिलालाई लाई दियो उनले भने हामी त कागजमा मात्र सीमित रहेछौ त्यसैले पछि म इन्डिया आईहाल्य । 

उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर रावलले उपभोक्ता समितिमा हामी बसेका मात्र हौ काम कसले गर्‍यो पैसा कसले लग्यो त्यो हामीलाई कुनै जानकारी छैन । वडा अध्यक्षले फ्रिजमा जान लागेको योजनालाई बचाउन आफूहरू उपभोक्ता समितिमा बस्न भने पछि बसेको अन्य कुरा केही जानकारी नै नरहेको बताए ।

उपभोक्ता समितिले सामान खरिद नगरेको सामान सबै एन्जिलाले खरिद गरेको बताउँदै उपभोक्ता समितिका अध्यक्ष रावल भन्छन् म त बाहिर बस्छु मैले कुनै काम गरेको छैन । दुनियाँको झन्झट मेरो टाउकोमा हालिदिए उनले भने ।  

यता साँफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले आफूले उपभोक्ता समितिलाई भुक्तानी दिएको बताए । उनले भने उपभोक्ता समितिले के गर्‍यो मलाई जानकारी छैन सो बारे वडा अध्यक्षलाई सोध्नुस् ।  सो योजना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु