कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा

छिनोफानो   मङ्गलबार १८, असार २०८१ १२:०९

काठमाण्डौ – प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस–एमालेसहित सत्ताको नेतृत्व गरिरहेको माओवादी पनि आन्तरिक छलफलमा छ ।

कांग्रेस–एमालेबीच गएराति सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो । आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित नौ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले उहाँलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रमुख दुई दलबीच भएको सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको दाबी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको समझदारीबारे पार्टी पदाधिकारीलाई जानकारीसमेत गराउनुभएको छ । बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराउनुभएको हो ।

यसैबीच कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर आफूहरु सरकार निर्माणमा सहभागी भएको बताउनुभएको छ । उहाँले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर एमालेसँग सरकार बनाउने सहमति भएको बताउनुभयो । प्रवक्ता डा.महतले आवश्यकताअनुसार अरू दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको प्रयास हुने पनि बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु