डुबानमा परेका ५० जनालाई सुरक्षित स्थानमा सारियो

छिनोफानो   सोमबार २४, असार २०८१ ०१:४३

कैलाली, असार २४ गते । लगातार वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुबानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट इलाकामा डुबानमा परेका घरपरिवारका करिब ५० जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस बडुवाटोलबाट खटिएको सुरक्षा फौजले सोमबार सुरक्षित स्थानमा सारेको होे ।

त्यसैगरी सोही जिल्लाको वेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुबानमा परेका तीन घरपरिवारलाई नं. ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं.–११ ब्रमिनी र वडा नं.–१२ ऐरीगाउँ इलाकामा भुजेल खोलामा पानीको बहाव बढी डुबानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुर इलाकामा कटैनी नदीमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुबानमा परेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको सहायक प्रवक्ता थापाले बताउनुभयो । । डुवानमा परेकाहरुको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३४  गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलियाको सुरक्षा फौज खटिएको थियो ।

सहायक प्रवक्ता थापाका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदीमा पानीको बहाव बढेर बस्तीमा पस्दा डुबानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फूलबारीको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् प्रतिकार्यका लागि मनसुन अवधिभर २४सै घण्टा परिचालन हुने गरी पाँच सय ४६ एकाइमा सात हजार चार सय ५५ जनाको जनशक्ति आवश्यक उपकरणसहित तयारी हालतमा राखेको छ । त्यस्तै मनसुन अवधिभर सशस्त्र प्रहरीका एक सय १० जना गोताखोर र विपद् उद्धार तालिम प्राप्त जनशक्तिलाई सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा रहेका एक सय २० वटा मोटरबोट तथा र्‍याफ्ट बोटसहित सातै वटा प्रदेशका बाहिनी मुख्यालयहरु तथा उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल तथा देशभरका विपद् व्यवस्थापन बेसहरुमा तयारी हालतमा राखिएको छ ।

बाढीपहिरो तथा डुबानमा परेकाहरुलाई तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नं. १११४ मा खबर गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु