रवि लामिछाने गृहमन्त्री हुँदा एउटा मात्रै फाइल खोलियो: विश्वप्रकाश शर्मा

छिनोफानो   आइतबार १३, साउन २०८१ ०३:४२

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रवि लामिछाने गृहमन्त्री हुँदा एउटा मात्रै फाइल खोलेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले लामिछाने गृहमन्त्री हुँदा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारीको फाइल मात्रै खुलेको बताएका हुन्।

‘ठूलै स्वरमा काम गरेर हल्लीखल्ली गरेर बिदा हुँदासम्म एउटा पनि फाइल खोल्नु भएनछ त भनेर चिन्ता लाग्ला,’ शर्माले भने, ‘एउटा फाइल खुलेको थियो( कान्तिपुर मिडिया ग्रुपका मालिकको गिरफ्तारी। भयो के दुनियाँ जान्दछ, खोदा पहाड निक्ला चुहा१’

गत जेठ ८ गते नागरिकतासम्बन्धी मुद्दामा कान्तिपुरको कार्यकक्षबाटै सिरोहिया पक्राउ परेका थिए। ९ दिनपछि हाजिरी जमानीमा उनी छुटेका थिए।

महामन्त्री शर्माले नयाँ गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारविरूद्धको अनुसन्धानमा चार चरित्र मूल मन्त्र बनाउन पनि आग्रह गरेका छन्।

‘हस्तक्षेपमुक्त अनुसन्धान, स्टन्टमुक्त अनुसन्धान, अनुग्रहमुक्त अनुसन्धान र पूर्वाग्रहमुक्त अनुसन्धान गर्नुहोस्,’ उनले गृहमन्त्रीलाई सुझाब दिए।

उनले हल्ला थोरै र काम धेरै गर्न पनि आग्रह गरेका छन्।

महामन्त्री शर्माले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी(इस्टेट प्रकरणमा पनि छानबिन हुनुपर्ने बताएका छन्।

‘यी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ,’  प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने, ‘त्यो अनुसन्धानले हामी आफैमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ।’

उनले अरूमाथि अनुसन्धान माग गर्न सजिलो हुने तर आफूमाथि अनुसन्धान माग गर्न गाह्रो हुने पनि बताए।

‘गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको थियो। यो बेला प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका को व्यक्ति हुन् तिनले छुट पाउन हुँदैन,’ शर्माले भने, ‘यो आरोपको छानबिन गरियोस्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि निर्दोष फस्न हुँदैन, दोषी उम्कन हुँदैन।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु