सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान

छिनोफानो   शनिबार १९, साउन २०८१ ०४:१२

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । एकीकृत समाजवादीबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को ९२० उपधारा बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए । उनकाअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा आइतबार  साँझ ५ बजेभित्र दाबी पेश गर्न  समय दिएका छन् ।

राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० औँ दिनमा शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए।

कांग्रेस र एमालेबीच भएको भागबण्डाअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । कांग्रेसमा मुख्यमन्त्रीका लागि पूर्व मुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले दाबी गरिरहेका छन् ।

मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्टछुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन् । देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु