आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला

छिनोफानो   बुधबार २३, साउन २०८१ ०१:५०

कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् ।

आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् । धनगढी गाउँका स्थानीय रामरतोदेवी रानाका अनुसार तीजको दिन दिनभरि निराहार व्रत बसेर बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरुले सामनकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर नदीतिर लाग्ने गरेका छन् ।

यस्तै, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरेको जनाइएको छ ।

सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारैधार टाढा जानू, हाम्रो दाजुभाई, भतिजाको उमेर बढाउनू” भन्ने गरेको रामरतोले बताउनुभयो । नदीमा झुरकी बगेर जति टाढा जान्छ, दाजुभाई, भतिजाको आयु त्यति नै लामो हुने जनविश्वास रहेको उहाँले उल्लेख गर्नुभयो ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाईहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने चलन रहेको छ । यस्तै, व्रतालुहरु सामनको डोला खेलेर रमाउने गरेको जनाइएको छ ।

तीज रानाथारु समुदायका महिलाको विशेष र सामाजिक, सांस्कृतिक, भाषिक, ऐतिहासिक महत्व बोकेको विशिष्ट पर्व रहेको नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु