भारतीय विदेशसचिव काठमाडौंमा : शीर्ष नेतृत्वसँग भेटवार्ता

छिनोफानो   सोमबार २८, साउन २०८१ ०१:०३

भारतीय विदेशसचिव विक्रम मिश्रीले स्थिर, शान्त र समृद्ध नेपाल भारतले चाहेको बताएका छन् । विदेशसचिव भएपछि परिचयात्मक भ्रमणका क्रममा आइतबार नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय नेतृत्वको सन्देश सुनाएका हुन् । 

‘नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुन्छ । भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको छ,’ मिश्रीको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । मिश्रीले सबै भेटवार्तामा स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको र नेपालसँग थप सुदृढ सहकार्य गर्न भारतले चाहेको सन्देश सुनाएको सम्बद्ध स्रोतहरूले जानकारी दिएका छन् । सबै भेटमा उनले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा नेपालसँग थप सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

आइतबार बिहान भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौं अवतरण भएलगत्तै उनी भेटवार्तामा व्यस्त रहे । मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । मिश्रीसँगै भारतीय विदेश मन्त्रालयको उत्तर डिभिजन (नेपाल र भुटान) प्रमुख अनुराग श्रीवास्तवसहितका अधिकारी आएका छन् । 

शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपतिले हिमाल र पानीको सुरक्षामा मानव जातिको सुरक्षा निर्भर रहेको भन्दै नेपाल र भारतले जलवायु परिवर्तनको असर न्यूनीकरणमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्ने बताए । ‘कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानव संसाधन विकास नेपालको प्राथमिकता छ । नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना छ । यसमा दुई देशले मिलेर काम गर्नुपर्छ,’ राष्ट्रपतिको भनाइ थियो । 

भारतीय विदेशसचिव मिश्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाए । उनले ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको पनि बताए । प्रधानमन्त्री ओलीसँगको भेटमा विदेशसचिव मिश्रीले नेपाल र भारतको सभ्यता, निकटता तथा बहुआयामिक सम्बन्ध स्मरण गर्दै द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रका विषयमा छलफल गरेको भारतीय दूतावासले जनाएको छ । मिश्रीले नेपालको सबै क्षेत्रमा भारतले सम्बन्ध थप सुदृढ गर्न चाहेको पनि बताए । उनले शीर्ष नेताहरूलाई भारतीय नेतृत्वका तर्फबाट शुभकामना व्यक्त गरेका थिए । 

मिश्रीले नेपाली समकक्षी सेवा लम्साल र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम छ । लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरूसँग भेटवार्ता सकेर उनी सोमबारै दिल्ली फर्किने कार्यक्रम छ । देउवा र प्रचण्डसँग शिष्टाचार भेटका लागि मिश्री उनीहरूकै निवास पुगेका थिए ।

मोदीलाई नेपाल भ्रमणको निम्ता
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री केपी ओलीले विदेशसचिव विक्रम मिश्रीमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका छन् । पछिल्लोपटक नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भ्रमण भएको र मोदीको शपथग्रहणमा पनि प्रधानमन्त्रीका रूपमा प्रचण्ड दिल्ली गएका थिए । पारस्परिकताअनुसार मोदीको नेपाल भ्रमणका लागि ओलीले निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु